नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोको २०२३ को तयारी पूरा भएको छ ।
नाडाले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोको आयोजना गर्दैछ ।
नाडा अध्यक्ष डा धु्रवबहादुर थापाले अटोशोमा साना तथा ठुला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिनुभयो । उहाँका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको जनाइएको छ ।
नाडा अटो एक्स्पो २०२३ मा विगतमा भन्दा उत्साहजनक रूपमा अटो मोबाइल कम्पनीको सहभागिता रहेको नाडाले जनाएको छ ।
नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन । लामो समयदेखि हुन नसकेकाले नाडा अटोको २०२३ मा अटो मोबाइल कम्पनीको अत्यधिक सहभागिता रहेको नाडाले जनाएको हो ।
सटल बसको व्यवस्था
नाडाले छ दिनसम्म सञ्चालन हुने शोमा पहिलो पटक सटल बस सञ्चालन गर्ने जनाएको छ ।
नाडाका सचिव एवं अटोको संयोजक अनुपकुमार बरालले शोलाई ध्यानमा राख्दै तीन वटा सटल बस सञ्चालनको तयारी भएको जानकारी दिनुभयो । काठमाडौँ मल, सैनिक कल्याणकारी भवन, बसपार्क, भ्यु टावरलगायतका सार्वजनिक पार्किङ स्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।
यस्तै, नाडाले आजदेखि नै अटो शोको टिकट बुकिङ खुला गरेको छ । ७५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको शोमा विद्यार्थीका लागि रु एक सय ५० तथा अन्य व्यक्तिका लागि रु दुई सयको टिकट छुट्टाइएको छ । खल्तीबाट अटोशोको टिकट काट्नेका लागि २० प्रतिशत क्यासब्याकको सुविधा दिइएको नाडाले जनाएको छ ।
करिब रु २० अर्ब बराबरको कारोबार हुने शोमा ७५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको नाडाले जनाएको छ ।
त्यसैगरी नाडाले टिकट काटेका सेवाग्राहीमध्येबाट एक जना भाग्यशाली अवलोकनकर्ताले लक्की ड्र«मार्फत यडिया इ८एस इलेक्ट्रिक स्कुटर दिने जनाएको छ ।
नाडा अटोशोको शीर्ष प्रायोजकमा टाटा मोट्र्स जेनुइन आयल, सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, प्रदर्शनीको डोर प्राइजमा वाडिया, टिकटिङ पार्टनरमा बल्ली, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फन्टनाइन हस्पिटल रहेको नाडाले जनाएको छ ।
नाडाका अनुसार प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्