शिक्षकको माग गर्दै सल्यानका अधिकांश विद्यालयमा तालाबन्दी

सल्यान । शिक्षकको माग गर्दै सल्यानका बागचौर नगरपालिका भित्रका अधिकांश विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
महिनौँदेखि अनिवार्य विषयका शिक्षकहरू नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् भने एक विद्यालय बन्द नै भएको छ ।
बागचौर नगरपालिकाले पहिलेदेखि कार्यरत नगर अनुदानका शिक्षकलाई हटाएर, पुनः परीक्षा गराएर शिक्षक भर्ती गर्ने भनेता पनि महिनौँ बितिसक्दा पनि शिक्षकको पदपूर्ति हुन नसकेपछि विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गर्न थालेका हुन ।
आइतबार सरस्वती माध्यमिक विद्यालय बागचौर नगरपालिका—६ जामुनेचौरमा विद्यार्थीले तालाबन्दी गरेका छन्,भने सोमबार अमरज्योती माध्यमिक—३ चौरपानी र शिशु कल्याण माध्यमिक विद्यालय ११ हारिचारमा विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका हुन ।
गत साउनमा बागचौर नगरपालिकाले नगर अनुदानमा कार्यरत शिक्षकहरूलाई हटाएर पुनः परीक्षा गराउने निर्णय गरेको र शिक्षकको पहिलो चरणको परीक्षा समेत गराएको तर अहिलेसम्म पनि विद्यालयमा शिक्षक नपठाउँदा पढाइ अस्तव्यस्त भएको भन्दै आफूहरू विद्यालयमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीको भनाई छ ।
सरस्वती माध्यमिक विद्यालयमा बागचौर नगरपालिका—६ जामुनेचौरमा नगर अनुदान र निजी स्रोतका ६ जना, अम्मरज्योति माध्यमिक विद्यालय बागचौर नगरपालिका ३ चौरपानीमा नेपाली,गणित र सामाजिक विषयका ३ जना र शिशु कल्याण माध्यमिक विद्यालय बागचौर नगरपालिका ११ हारिचारमा ३ जना शिक्षक नहुँदा पठनपाठनमा असर पुगेको विद्यार्थीको भनाई छ ।
यस्तै श्री सहिद भरत स्मृति विद्यालय बागचौर नगरपालिका वडा नं. ५ शिर्पामा पनि शिक्षकको अभावमा विद्यालय बिदा गरिएको छ ।
विद्यालयमा भएका नगर अनुदान,निजी स्रोत र भोलेन्टर गरी ६ जना शिक्षकलाई नगरपालिकाले विभिन्न बहानामा हटाएपछि विद्यालयको पठनपाठन अवरुद्ध भएको एक अभिभावकले बताउनुभयो ।
बागचौर नगरपालिकाले फरक पार्टीमा आस्थावान शिक्षकहरूलाई विभिन्न बहानामा हटाएर आफ्नो पार्टी निकट शिक्षकलाई भर्ती गर्ने परिपाटी मिलाउन खोजेको तर अहिलेसम्म पनि शिक्षक विद्यालयमा नपठाउँदा नगरभित्रका अधिकांश विद्यालयहरूको पठनपाठनमा असर पुगेको अभिभावकको भनाई छ ।
आवश्यक शिक्षकको पदपूर्ति जतिसक्दो छिटो नगरपालिकाले गर्नुपर्ने भन्दै विद्यार्थीहरूले उक्त विषयमा नगरले चासो नदेखाए मङ्गलवार देखि नगरपालिकामा गएर आन्दोलन गर्ने बताएका छन् ।
यता नगरपालिकाले शिक्षकहरूको पहिलो पेपरको परीक्षा गराइसके पनि विभिन्न कारणले दोस्रो पेपरको परीक्षा हुन नसकेको बताएको छ । परीक्षाको समय आइसक्दा पनि शिक्षकहरूलाई विद्यालयमा पठाएर नियमित पठनपाठन गराउन नसक्दा आफू पनि चिन्तित बनेको र त्यसको लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग आफूले छलफल गरिरहेको बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख चित्रा बस्नेतले बताउनुभयो । उक्त समस्याको समाधान केही दिन भित्रै गरिसक्ने बस्नेतको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्