तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको मिथिला नगरपालिका विरुद्धको रिट उच्च अदालतद्वारा खारेज

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाले सम्पन्न गरेको नगरसभाविरुद्ध परेको रिटलाई उच्च अदालत जनकपुरले खारेज गरेको छ ।

मिथिला नगरपालिकाको नगरसभा विरुद्ध परेको रिट उच्च अदालत जनकपुरका न्यायधीशद्वय रेखा थापा पाण्डे र सागर विष्टको संयुक्त इजलासले खारेज गरेको छ । नगरसभा विरुद्ध उपप्रमुख सुनिता सिंह बुढाथोकीले गत साउन १६ गते उच्च अदालत जनकपुरमा रिट निवेदन दिनु भएको थियो । 

मिथिला नगरपालिकाले गत साउन १५ गते बहुमत कार्यपालिका सदस्यहरूको सहमतिमा आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम पारित गरेको थियो । एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि नगरसभामा सहभागी नहुँदै नगरसभा विरुद्ध उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गराएका थिए । 

उच्च अदालतले मिथिला नगरपालिकाको नगर सभालाई सदर गरेसँगै नगरपालिकाको कामकाज सुचारु हुने भएको छ । मिथिला नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१का लागि ७८ करोड २ लाख ६ हजार ७ सय २७ रुपैयाँको बजेट सहितको कार्यक्रम ल्याएको थियो । 

लामो समयसम्म विवादका कारणले समयमा बजेट तथा कार्यक्रम नल्याएपनि ढिलो गरेर नयाँ आर्थिक वर्ष शुरु भएको १५ दिनपछि मात्र नीति तथा कार्यक्रम ल्याएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button