आइसिपी भन्सार वीरगंजले साउनमा ११ अर्ब ८६ करोड राजस्व उठायो

वीरगंज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगंजले चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो महिनामा ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई साउन महिनामा १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयात निरन्तर रुपमा ओरालो लागेसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै २४ प्रतिशत कम राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालयले तोको लक्ष्य भन्दा एक महिना मै ३ अर्ब ७५ करोड ५३ लाख २५ हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ४ अर्ब ५० करोड १ लाख १८ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ ४ अर्ब ९७ करोड ७८ लाख ९८ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी अन्त शुल्क तर्फ ८८ करोड ४८ लाख ८६ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ ९० करोड १० लाख ४९ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १४ करोड ४२ लाख ९२ हजार असुली गरेको छ ।
यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ २४ करोड ४४ लाख ९२ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १८ करोड ५७ लाख १ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्