संस्कृति संरक्षण र व्यवसाय प्रवर्द्धनको लागि रत्ननगरमा महोत्सव

चितवन । पूर्वी चितवनको रत्ननगरमा यही भदौ २६ गते देखि असोज ८ गते सम्म रत्ननगर व्यापारिक महोत्सव तथा तीज सांस्कृतिक हुने भएको छ ।
रत्ननगर वडा नं ३ मा रहेको दी हेल्पिङ युथ क्लबले हरितालिका तीजको अवसर पारेर सो महोत्सव गर्न लागेको हो । महोत्सवको उद्देश्य र तयारीको विषयमा आयोजकले आइतबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
संस्कृति संरक्षण र जगेर्ना सँगै चितवन जिल्लाको आर्थिक विकासको लागि महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष संजय तामाङले जानकारी दिनुभयो । महोत्सव शान्तिचोक स्थित खालीचौरमा हुने आयोजकले जनाएको छ ।
संस्कृति संरक्षणसँगै महोत्सवले जिल्लाको आर्थिक विकासमा समेत टेवा पुर्याउने उद्देश्य सहित महोत्सव गर्न लागिएको उहाँले बताउनु भयो । महोत्सवमा १५० देखि २०० वटा स्टल रहने छ ।
महोत्सवमा तीज केन्द्रित स्टलसँगै तीजको दिन महोत्सव भित्र भव्य तीज गीत कार्यक्रम समेत गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीय उत्पादनको बजारीकरण गरि ग्रामीण क्षेत्रको उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको महोत्सव मुल समारोह समितिका संरक्षक सुजन क्षेत्रीले बताउनुभयो । कोरोना महामारीको चपेटामा रहेको चितवनको पर्यटनलाई उकास्ने गरि महोत्सवमा गतिविधि समावेश गरिने छ ।
महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान दिने उहाँले बताउनु भयो । ओम शक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाको सहयोगमा हुने सो महोत्सवको संरक्षकमा रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघ रहेका छन् ।
महोत्सवमा बाल उद्यान, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता समेत हुने महोत्सव मुल समारोह समितिका सदस्य राजु लामाले बताउनु भयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।







प्रतिक्रिया राख्नुहोस्