हेरालुसहित सिंह बाहिनी धार्मिक क्षेत्रमा फलफूलको बिरुवा रोपियो

इलाम । वातावरण संरक्षण, भू—क्षय नियन्त्रण र बाँदर लगायतका वन्यजन्तुको आहारा व्यवस्थापनको लागि इलामको धार्मिक क्षेत्र सिंह बाहिनी मन्दिर परिसरमा फलफूल अन्य जातको बोट बिरुवा रोपिएको छ ।
जङ्गलमा वन्यजन्तुको आहारा नहुँदा बाँदर लगायतका वन्यजन्तुले किसानको बालीमा क्षति पुर्याउने गरेको छ । जङ्गल मासिँदै जाँदा र जङ्गलमा फलफूल जन्य वन्यजन्तुको आहार नहुँदा किसानले लगाएको बालीनाली, फलफूल खाने, बस्ती नजिक गई क्षति गर्ने गरेका छन् ।

सो अवसरमा इलाम नगरपालिकाका उपप्रमुख विष्णु कुमारी दहालले वन्यजन्तुको आहार र भू—संरक्षणको लागि सामाजिक सङ्घ संस्थाको अभियानमा स्थानीय सरकारले सहयोग र समन्वय गर्ने बताउनुभयो ।
उहाँले वृक्षारोपण गर्दा जसरी सबै मिलेर सहकार्य गरिएको छ संरक्षणको लागि पनि उतिकै सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।

काठमाडौँको टेवा संस्थाको आर्थिक सहयोगमा इलामस्थित सहयात्रा नेपाल संस्थाको आयोजनामा भएको कार्यक्रममा सिंह बाहिनी धार्मिक क्षेत्र विकास समिति, इलाम नगरपालिका वाड नं ८ र ९, डिभिजन बन कार्यालय इलाम, गुम्बा डाँडा सामुदायिक बन महिला उपभोक्ता समितिले सहकार्य गरेका छन् ।
केही बिरुवा डिभिजन बन कार्यालय इलाम, जिल्ला वनस्पति कार्यालय इलाम, गुम्बा डाँडा सामुदायिक बन महिला उपभोक्ता समिति लगायत स्थानीयले उपलब्ध गराएका छन् भने केही बिरुवा सहयात्रा नेपालले खरिद गरेको जनाइएको छ ।
बिरुवा रोपण धेरै हुने गरे पनि संरक्षण नहुने गरेकोले संरक्षणको लागि हेरालुको समेत व्यवस्था गरेको सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाले बताउनुभयो ।
विभिन्न सङ्घ संस्था स्थानीय सरकारको र स्थानीय बासीको सहभागितामा बिरुवा रोपण भएकोले संरक्षणको लागि आफूहरूले लागि पर्ने सिंह बाहिनी मन्दिर संरक्षण समितिका अध्यक्ष राजीव न्यौपानेले बताउनुभयो ।

मन्दिर परिसरमा रहेको खाली जमिनमा फलफूल र अन्य गरी करिब ४ सय बिरुवा रोपण गरिएको छ ।
उक्त स्थानमा नास्पाती, अम्बा, लिची, केरा, चिउरी, तितिरी, उतिसलगायतको बिरुवा रोपिएको छ । बिरुवा रोपेपछि अहिले संरक्षणको लागि बाँसको भाटाद्वारा बार बेर भइरहेको जनाइएको छ ।
बिरुवा रोप्नुअघि बिरुवा रोपिने स्थान झाडी सफाइ गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्