बेमौसमी तरकारीको हब सल्यान कपुरकोट (फोटो फिचर)

सल्यान । सल्यान बेमौसमी तरकारी उत्पादनको हबका रुपमा परिचित छ । सल्यानलाई देशभर चिनाउने उपमा सल्यान कपुरकोटको बेमौसमी तरकारीलाई दिने गरिन्छ ।
नेपालको बेमौसमी तरकारी झन्डै ४० प्रतिशत बजार कपुरकोटले ओगटेको छ । एक सिजनमा झन्डै तीन हजार मेट्रिकटन भन्दा बढी ताजा बेमौसमी तरकारी जिल्ला बाहिर निकासी हुने गर्दछ ।

समुन्द्री सतहबाट १२ मिटर देखि १८ सय मिटरसम्मको उचाइमा रहेको यहाँको खेतबारीमा किसानहरूले बढी मात्रामा बेमौसमी तरकारी उत्पादन गर्ने गर्दछन् । कपुरकोट गाउँपालिकाको विभिन्न वडामा ३० भन्दाबढी सहायक तरकारी बजार लाग्ने गर्दछन् । तरकारी खरिदका लागि नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, दाङलगायतका बजारबाट व्यापारी कपुरकोटमा आउने गर्दछन् ।
यस क्षेत्रका किसानहरुले विशेष गरि गोलभेँडा, बन्दागोभी, काउली, घ्यूसिमी, बोडी, खुर्सानी आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, आदी बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् । विगतका वर्षहरू भन्दा यस वर्ष तरकारीले राम्रो मूल्य पाएको किसानहरूको भनाई छ । नेपालको तराई र भारतमा अधिक वर्षा भई डुबान हुँदा यस वर्ष सल्यानका किसानले १०० सय देखि १५० रुपैयाँ किलोसम्म गाेलभेडा, ५५ देखि ६० रुपैयाँसम्म गन्दागोवि बिक्री गरेका छन् ।

सल्यानको पूर्वी भागमा रहेको धनवाङ, सिनवाङ, गर्पा, रिम, फलावाङ, त्रिवेणी, छायाक्षेत्र, रोल्पा जिल्लाका बुढागाउँ, नुवागाउँ, झेनाम, जुँगार, जिनावाङ, ओत जस्ता क्षेत्रबाट कपुरकोट बजार केन्द्रमा करिब १५ देखि २० हजार किसानहरू ताजा तरकारी एवं फलफूल बिक्री गर्ने गर्दछन् ।
















प्रतिक्रिया राख्नुहोस्