तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियामा अमेरिकी सेनाको विमान दुर्घटना

सिड्नी ।  संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतबार युद्ध अभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । 

अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएकf] हो । 

दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेको अष्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ । 

विमानमा अष्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित अमेरिकी  सुरक्षा निकायका २० जना सदस्य थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई डार्विन अस्पताल लगिएको तथा एक जनाको अवस्था गम्भीर छ । 

संयुक्त युद्ध अभ्यासमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन् । 

उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्त्वपूर्ण रणनीतिक स्थान बनेको छ । एसिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो । रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button