पार्टी रूपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उपसभापति खड्काले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रूपान्तरण र सुधारका लागि आफैँबाट सुरु गर्न सुझाव दिनुभयो ।
“अरूलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।” उपसभापति खड्काले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको र नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राख्नुभयो । उहाँले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने सङ्कल्प बोकेर काम गरे पार्टी सुधार र रूपान्तरण हुने बताउनुभयो ।
पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उहाँले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने भनाइ राख्नुभयो । उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भए पनि चाँडै त्यसलाई पूर्णता दिने जानकारी पनि दिनुभयो ।

उहाँले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औँला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहनुभएका खड्काले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिने समेत स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचार अन्त्य गर्ने र सुशासनका लागि वर्तमान सत्ता गठबन्धन बनेकाले सरकार पनि त्यही सङ्कल्पका साथ अघि बढेको बताउनुभयो ।
उहाँले सरकारले चाँडै लम्की स्कीन रोगबाट पीडित किसानलाई राहत दिने र त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काम गरिरहेको जानकारी पनि दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्