तपाईँ सुन्दै हुनुहुन्छः

सबै जातीय समुदायले आपसी सद्भाव कायम राख्नुपर्छ : नेता डा.कोइराला 

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाल बहुजाति तथा बहुभाषिक मुलुक भएकाले सबै जातीय समुदायले आपसी सद्भाव कायम राख्नुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन कार्यक्रममा केन्द्रीय सदस्य डा. कोइरालाले नेपालको संविधानले सबै जातीय समुदायलाई उत्तिकै अधिकार दिएकाले धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो । जातीय सद्भाव बिथोलिने गरी कुनै पनि अभिव्यक्ति नदिन पार्टी नेतृत्वलाई उहाँले आग्रह समेत गर्नुभयो । 

नेता डा.कोइरालाले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा  तथा सुन काण्ड जस्ता विभिन्न प्रकरणका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा   नेपालको छविमा गलत असर परिरहेकाले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो । यस्ता घटनाहरूको  ढाकछोप गर्ने प्रयास भइरहेकाले निष्पक्ष छानबिनका लागि  उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा उहाँले बताउनुभयो । 

उहाँले व्याप्त भ्रष्टाचारका कारण मुलुकका आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा गम्भीर असर परिरहेकाले त्यसतर्फ दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले जनता सामु राजनीतिक दलहरूले सुशासन र पारदर्शिताको कुरा गरे पनि त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

मुलुक अहिले जटिल अवस्थाबाट गुज्रिरहेकाले मुलुकलाई सही बाटोमा ल्याउन सञ्चारकर्मीहरूले राजनीतिक स्वार्थभन्दा माथि उठेर कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

नेपाली काँग्रेसलगायत जुनसुकै राजनीतिक दलहरूले गलत काम गर्छ भने त्यस विषयमा कलमको माध्यमबाट पार्टीहरूलाई सचेत गराउनु सञ्चारकर्मीको दायित्व रहेको उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button