धरानमा आजराती १२ बजेदेखि भोली राती १२ बजेसम्म निषेधाज्ञा

सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरमा देखिएको धार्मिक तथा साम्प्रदायिक अवस्था तथा जनस्वास्थ्य समेतको अवस्थालाई हेर्दै आज राती १२ बजेदेखि भोली राती १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै सुनसरीका १२ पालिकामा डेंगु फैलिएर १६ हजार भन्दा बढी संक्रमित भएकोले धरान उपमहानगरमा डेंगु नियन्त्रण नहुन् जेलका लागि स्वास्थ्य सङ्कटकाल घोषणा सिफारिस गर्नुभएको छ भने यस अवस्थामा धरान उपमहानगरपालिका क्षेत्र धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम भोलि एक दिनका लागि अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला तथा प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न तथा नगराउन भन्दा निषेधाज्ञा जारी गरिएको छ ।
आदेश विपरीत गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।
धरानमा एउटा समूहले गोरु काटेर भोज गरेपछि हिन्दू धर्मावलम्बीहरूले विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति र्याली’ आयोजना गर्ने तयारीमा जुटेका थिए । शान्तिपूर्ण र्याली गर्ने भनिएपनि घुसपैठ भई स्थिति तनावग्रस्त हुने अनुमान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्