तपाईँ सुन्दै हुनुहुन्छः

२ महिना मै भासियो २ करोडको कालोपत्रे सडक

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिकामा एक कालोपत्रे सडक २ महिना मै भासिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा निर्माण गरिएको कालोपत्रे भासिएको हो । निर्माण गरिएको कालोपत्रे सडक ५१ दिन नबित्दै भासिएको हो । 

लालपुरदेखि उक्ठहवाको विचमा करिब २० मिटर लामो सडकछेउ भासिएको स्थानीयले बताएका छन् ।  वर्षाका कारण उक्त सडकछेउमा कालोपत्रे भासिएको हुन सक्ने अनुमान गरिएको छ ।

यता स्थानीयका अनुसार लोड भएको टिप्पर गाडीले सडक भासिएको बताएका छन् । कमसल सामग्रीको प्रयोगले कालोपत्रे सडक भासिएको उनीहरूको आरोप छ । 

इजी कन्स्ट्रक्सन दाङले २ करोड १९ लाखमा सडक निर्माणका लागि २०७९ फागुन १७ गते उक्त योजना ठेक्कामा लिएको थियो । २०८० असार २० गते सम्पन्न गरेको कालोपत्रे सडक भासिएको हो ।

इन्जिनियर नवीन डुम्रेले भासिएको सडक अनुगमन गरिएको बताउँदै निर्माण कम्पनीलाई पुनः मर्मत गर्न अनुरोध गरिने बताउनुभयो । उनले १३ महिनाभित्र ठेकेदारले निर्माण गरिएको सडक भत्किए, बिग्रिएमा पुनः निर्माण गरिनुपर्ने बताउनुभयो ।  उनले सडकको छेउमा नाली नभएकोले उक्त सडक भासिएको हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button