नक्कली गहना दिएर १८ लाख ठग्ने महिला पक्राउ
बागलुङ । बागलुङकी एक महिला नक्कली सुन गरगहना दिएर १८ लाख रुपियाँ ठगीको कारण जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मिना केसी खड्का पक्राउ परेकी हुन् । खड्काले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा आफूलाई पैसा आवश्यक परेको भन्दै आफूसँग भएका गरगहानाहरु दिएर सोही ठाउँका सूर्य बहादुर खड्कासँग १८ लाख रुपैयाँ लगेको प्रहरीले बताएको छ ।
मिनाले फेरि पनि पैसा आवश्यक परेकोले थप गरगहना राखेर दुई लाख रुपैयाँ दिन भन्दै २०७९ फागुनमा सूर्यसँग पैसा मागेकी थिइन् । फेरि पनि गहना दिएर पैसा सापटी लिन खोजेपछि सूर्यले गरगहना सुनका नहुन सक्ने अनुमान गर्दै सुनचाँदी पसलमा जाँच गराएका थिए । १८ लाख रुपैयाँ दिने बेलासम्मका गहनाहरूसहित थप दुई लाख रुपैयाँ माग्ने बेलाका गहनाहरूसमेत नक्कली भएको पाएपछि सूर्यले जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका थिए ।
त्यसैको आधारमा मिनालाई गत भदौ छ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । बागलुङ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्