तपाईँ सुन्दै हुनुहुन्छः

गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरिने विश्वास दिलाउनुभएको छ ।

गौरा पर्व २०८० का सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको जानकारी दिनुभयो । उहाँले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमा समेत आफू सकारात्मक रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उहाँले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्नुहुँदै तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना समेत अगाडि बढाइएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन प्रधानमन्त्रीसमक्ष माग गर्नुभयो । यस पर्व नेपालको सुदूरपश्चिम र कर्णालीका साथै भारतको उत्तराखण्डका केही भागमा समेत मनाउने प्रचलन रहेको उल्लेख गर्नुहुँदै उहाँले यसको महत्वलाई स्थापित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले राष्ट्रिय बिदाका सम्बन्धमा केही अप्ठ्यारा रहेको जनाउँदै तिथिका आधारमा निर्णय गर्नुपर्ने भएकाले सहमति गर्नुपर्ने बताउनुभयो । सबै नेपालीले यस पर्वलाई माया गरेकामा धन्यवाद दिनुहुँदै उहाँले गौराको महिमालाई थप विस्तार र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक लगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावल लगायतले देउडा खेल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button