तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा सर्वसाधारणलाई सहुलियत दरको चामल पाउनै मुस्किल

मुगु । वर्षा रितु सुरु भएसँगै कुनै पनि बेला विपद् आउन सक्ने भन्दै खाद्य व्यवस्थापन समितिको साउन १९ गते बसेको बैठकले साउन २० गतेबाट सर्वसाधारणलाई चामल बिक्री वितरण गर्न रोक लगाएपछि सर्वसाधारणलाई सहुलियतमा पाइने खाद्यान्न पाउन मुस्किल भएको छ ।

विपद् व्यवस्थापनको लागि भनेर समितिको साउन १९ गतेको निर्णयले सर्वसाधारणलाई बिक्री वितरण गर्न रोक लगाएको हो । 

अहिले सर्वसाधारण बजारको चर्को मूल्यमा चामल उपभोग बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा पुग्नुभएकी छायानाथ रारा नगरपालिका— ३ निगाले गाउँकी ७० बर्षीया जीरकला कामीले सहजै चामल नपाएको बताउनुभयो । उहाँले कार्यालयका कर्मचारीलाई हात पाउ जोरेर २५ केजीको एक बोरा चामल जसो तसो पाउनुभयो । 

साउन १९ गते बसेको जिल्ला खाद्य व्यवस्थापन समितिको बैठकले बर्षातको बेला  कुनै पनि समयमा विपद् हुनसक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा मौज्जाद रहेको खाद्यान्न मध्ये जन्म र मुत्यौ भएका घर परिवारले पाउने २० केजी चामल बाहेक अन्यका हकमा चामल बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेपछि सर्वसाधारणले सहुलियत दरमा किन्न पाउने खाद्यान्न नपाउँदा बजारको चर्को मूल्यमा चामल किन्न बाध्य भएका हुन ।

खाद्य व्यवस्थापन कार्यालयले सहुलियत दरमा जिरा मसिनो २५ केजी प्रति बोराको २ हजार ३ सय सोना मन्सुली २५ कजीको १ हजार पाँच सय अरुवा मध्यम २५ केजीको १ हजार ४ सय ५० र अरुवा मोटो २५ केजीको १ हजार ४ सय मूल्यमा सर्वसाधारणलाई बिक्री वितरण गर्दै आएको छ । सोही  प्रकारका चामल बजारमा २५ केजीको २ हजार ७ सय सोना मन्सुली २ हजार  र  एसएमजी मोटो २ हजार ३ सयमा व्यापारीहरूले बिक्री गर्ने गरेका छन् ।

अघिल्लो वर्ष असोज १९ देखि २४ गतेसम्म परेको बर्षातले जिल्लाका सबै पानी घट्टहरू पूर्ण रूपले क्षति बनाउँदा यो वर्षसम्म घट्ट धनीहरूले  निर्माण गर्न नसक्दा सर्वसाधारणलाई अन्न पिस्न समेत मुस्किल हुँदा प्राय सबै बजार र खाद्य संस्थानकै भरमा चामल खरिद गर्छन् । अन्न पिस्ने घट्ट नहुँदा घर अन्न हुनेहरू समेत चामल किनेरै खानुपर्ने बाध्य भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष चित्र बहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार विपद्का लागि भनेर  खाद्य व्यवस्थापन समितिले पहिले नै खाद्यान्न मौज्जाद गर्नु राम्रो हो तर सर्वसाधारण मर्कामा परेको बारे ध्यान पुगेको भने देखिँदैन ।

अघिल्लो आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लिमिटेड मुगु शाखाको लागि सङ्घीय सरकारले २० हजार ७ सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेको थियो । जुन कोटाको चामल बिक्री वितरण भई ६ सय ४५ क्विन्टल चामल मौज्जाद रहेको छ । 

यो आर्थिक वर्षमा मुगु शाखाको लागि १० हजार २ सय ५० क्विन्टल चामलको कोटा छुटाएको भए पनि ढुवानी प्रक्रियामा ढिलाइ भएकाले चामल कहिलेसम्म पुग्ने निश्चित छैन ।  

अघिल्लो आर्थिक वर्षको मौज्जाद रहेको चामल दिनहुँ बिक्री वितरण गर्ने हो भने मौज्जाद रहेको चामल एक हप्ताभित्र सकिन्छ । बर्षातका बेला कुनै पनि प्रकोप आउन सक्ने भएकाले मौज्जाद रहेको चामल बिक्री गर्न रोक लगाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगु शाखाका प्रमुख पुष्कर भामले बताउनुभयो ।  

बजारमा चामलको मूल्य बढेको हो । यसको मूल्य मुगुका बजारमा मात्र बढेको होइन  देशभर चामलको मूल्य बढेको छ । व्यापारीहरूले नेपालगन्जलगायत देशका अन्य सहरबाट चामल किनेर ल्याउने गर्छन् । ती स्थानमा चामलको मूल्य बढेकाले यता पनि चामलको बढ्नु स्वाभाविक भएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताउनुभयो । 

जिल्लाका चार स्थानीय तह मध्ये जिल्ला सदरमुकाममा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कार्यालय छ । खत्याडमा एक डिपो एक बिक्री केन्द्र सोरु गाउँपालिकामा एक डिपो एक बिक्री केन्द्र र मुगुम कार्मारोङ गाउँपालिकामा एक डिपो रहेको भए पनि तीन पालिकाको डिपो र बिक्री केन्द्रमा एक दान चामल  मौज्जाद छैन ।

अघिल्लो आर्थिक वर्षमा खत्याड गाउँपालिकाको श्रीकोट डिपो २ हजार स्वीकृत कोटा मध्ये ९५ क्विन्टल मात्र चामल ठेकेदारले ढुवानी गरेका थिए । सोही गाउँपालिकाको रातापनी बिक्री केन्द्रको ७ सय ५० क्विन्टल मध्ये ६ सय ३० क्विन्टल ढुवानी भयो । सोरु गाउँपालिकाको सोरुकोट डिपो स्वीकृत २ हजार ५ सय मध्ये १ हजार ९ सय १६ क्विन्टल ढुवानी भई बिक्री वितरण भयो ।  हालै बिक्री केन्द्रमा १ हजार ५ सय मध्ये ४ सय ७५ क्विन्टल ढुवानी भई बिक्री वितरण भएको थियो ।  मुगुम कार्मारोङ गाउँपालिका पुलु डिपोको लागि १ हजार ७ सय मध्ये ३ सय ५९ मात्र ढुवानी भएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखा प्रमुख भामले जानकारी दिनुभयो ।

समयमै ढुवानी नहुँदा डिपो र बिक्री केन्द्रमा चामलको मौज्जाद शून्य  रहेको  हो । यो आर्थिक वर्षमा पुलु डिपोका लागि १ हजार ५ सय सोरु डिपोमा २ हजार श्रीकोटका लागि २ हजार कालै बिक्री केन्द्रमा १ हजार ७ सय र रातापानी डिपोका लागि ७ सय ५० क्विन्टल चामल स्वीकृत भई आएको र ढुवानीका लागि ठेकेदार पक्षको फर्मको मूल्याङ्कनको चरणमा रहेको प्रमुख भामले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button