तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

मनहरी (मकवानपुर) । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । 

बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताउनुभयो ।  

प्रदेशका स्वास्थ्य मन्त्रीको मन्त्री स्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरूले सेवा दिन थालेको प्रसाईँले बताउनुभयो । 

यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन रु दुई सय शुल्क लाग्दै आएको थियो । 

यो निर्णयसँगै १३ जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ शय्याबाट निःशुल्क सेवा पाउन थालेका हुन् । 

यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनः स्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराउन सुरु गरिएको छ । 

प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ अनिवार्य रूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । 

स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालका शय्या निःशुल्क गर्ने निर्णय गरेको र कार्यान्वयन गरिएको जानकारी दिनुभयो । 

उहाँले सरकारले निःशुल्क गरेको सेवा लिनलाई नागरिकलाई आग्रहसमेत गर्नुभएको छ । 

स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्गता भएका, विपन्न बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button