व्यावसायिक भैँसीपालनबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान
सल्यान।सल्यानको त्रिवेणी गाउँपालिका तिलक बोहराले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ । विगत ६ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आउनु भएका बोहराले मासिक ६० हजार बढी आम्दानी गर्दै आइरहनु भएको छ ।
विदेशमा गएर पसिना बगाउनु भन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्ने बनाउँदा उहाँले विदेशमा जत्तिको स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ । ठूला १० र साना ५ गरी १५ भैँसी पाल्दै आउनु भएका बोहराले दैनिक दुई हजारका दरले मासिक ६० हजार बढी आम्दानी हुँदै आइरहेको बताउनु भयो ।
साथीभाइ विदेश जान थालेपछि आफू पनि कतार गए पनि गएको ५ महिनामा नै बिरामी भएपछि स्वदेश फिर्ता भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘गाउँ समाज स्वदेशमा बस्ने भन्दा विदेश जानेको लहर बढी छ । त्यही लहरमा म पनि कतार हानिए तर पुगेको ५ महिना नहुँदै बिरामी परेर फर्किनु पर्ने बाध्यता भयो ।’
विदेश जाँदा लागेको ऋण तिर्न नपाउँदै स्वदेश फर्किए पछि आफ्नै गाउँघरमा केही गर्छु भन्ने सोचका साथ भैँसी पालनमा लागेको उहाँले बताउनु भयो । दूधको बजारीकरणका लागि समस्या नभएको उहाँको भनाई छ । घर देखि एक मिनेट पनि नलाग्ने ठाउँमा गाउँपालिकाले डेरी सञ्चालन गरि दिएको छ । साँझ बिहानको दूध त्यही डेरीमा लगेर बेच्छु उहाँले भन्नु भयो ।
प्रतिलिटर ८० का दरमा डेरीले दूध सङ्कलन गर्ने गरेको बोहराले बताउनु भयो । पहिले त्रिवेणी गाउँपालिकाले प्रतिलिटर दुई रुपैयाँ र अहिले कर्णाली प्रदेश सरकारले प्रतिलिटर ५ रुपैयाँ लिटर अनुदान दिए पछि किसानहरूलाई झनै सहज भएको उहाँको भनाई छ ।यस्तै बनगाड कुपिण्डे नगरपालिका १का दीप बहादुर बस्नेतले व्यावसायिक भैँसीपालनमा चार वर्षदेखि रमाउँदै आइरहनु भएको छ ।
साना ठूला गरी २३ भैँसी पालन गर्दै आउनु भएका उहाँले मासिक ८० हजार आम्दानी गर्दै आउनु भएको छ । २०७७ सालदेखि जनप्रिय भैँसीपालन फर्म दर्ता गरी ३ वटा भैँसीबाट व्यवसाय सुरु गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानै पर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागु गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रुपमा सावित हुन सक्छ ।’
सल्लीबजारमा डेरी नहुँदा दूध बिक्रीमा भने समस्या रहेको बस्नेतको भनाई छ । गाउँघर र बजारमा अहिले बिक्री भई रहे पनि धेरै दूध उत्पादन भएको समयमा बिक्री गर्न समस्या हुने गरेको उहाँले बताउनु भयो ।
राज्य नारामा मात्र सीमित नभई कृषि व्यवसायमा लाग्नेलाई व्यवहारिक रुपमा सहयोग गरे कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सके कृषिमा आत्मनिभइर हुनेको सख्ां बढ्ने उहाँको धारणा छ । उत्पादित कृषि सामाग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उहाँको अनुभव छ ।







प्रतिक्रिया राख्नुहोस्