तपाईँ सुन्दै हुनुहुन्छः

खोला तर्न लाप्का कै भर

मुगु ।  छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेखकी माया बुढा विद्यालयको कामको सिलसिलामा जिल्ला सदरमुकाम गमगढी आउँ जाउँ गरिरहनुपर्छ ।  सदरमुकाम जान गमगाढ खोला तर्नुको विकल्प छैन । खोला तर्नका लागी खोला माथि राखिएका काठका दुई लाप्का समात्दा  माया बुढाका  हात थरथर काम्ने गर्दछन् भने मुटु चिसो हुने गर्दछ । 

नगरपालिका कै वडा नं १  श्रीनगर गाँउमा रहेको मिन माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्र मुस्कान मल्ल आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोला माथिका दुई लाप्का भएरै जानु पर्ने भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको गुनासो सुनाउनुहुन्छ । 

मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं १ डोल्फु गाउँका छिरिङ आग्मु लामा उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिंगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भन्छिन्, ‘सदरमुकामबाट यार्सा पाटनमा जाँदा चाहिने औषधी,लत्ता कपडा र खानेकुरा किनेर घर जाँदै थिए खोलामा खसे भारी बगायो म बाँचे ।’ 

यी त केही प्रतिनिधि पात्र मात्र हुन जिल्ला सदरमुकाम जाँदा र फर्कँदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिकाका पुरै गाउँ र छायाँनाथ रारा नगरपालिकाका १९ गाउँका स्थानीयहरूले लाप्का समाएर जोखिमपूर्ण तरिकाले खोला तर्नु परिरहेको छ । 

हिउँदमा खोला सानो हुने हुँदा काठको लाप्को तर्न कोही डराउँदैनन् जब बर्खा सिजन शुरु हुन्छ तब उर्लँदो भेलमा कति खेर खसिन्छ भनेर मानिसहरू डराई डराई खोला तर्ने गर्दै आइरहेका  छन् ।

तन्नेरी युवा युवतीहरू भन्दा ज्येष्ठ नागरिक,बालबालिका,महिला,बिरामी र विद्यालय जाने बालबालिका बढी समस्यामा पर्दै आइरहेका  छन् । ज्येष्ठ नागरिकलाई लाप्को तर्दा रिंगटा लाग्ने र बुढ्यौलीमा शरीर कमजोर हुने भएकाले खोला तर्न गाह्रो हुने गरेको छ । कति चोटि आफूले कयौँ जेष्ट नागरिक,बच्चा बोकेका महिलाहरूलाई हात समाएर खोला तारेको घाट गाउँका स्थानीय रमेश मल्लले सुनाउनु भयो ।  

छायाँनाथ रारा नगरपालिका वडा नं १ मा रहेको मिन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आकाशमा कालो बादल आउना साथ बिदा मागेर घर जान हतार गर्ने गरेको उक्त विद्यालयका शिक्षक शिवलक्ष्मी मल्ल बताउनुहुन्छ ।  बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नु भन्दा पहिल्यै खोला तरीसक्नका लागी पढाई   बीच मै छोडेर विद्यार्थीहरू घर जान हतार गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । पुल नहुँदा खोला तरेर आउने विद्यार्थीहरूको पढाइमा असर गरेको उहाँ बताउनु हुन्छ ।

गमगढी– नाक्चे लाग्ना सडक गमगढी बजारबाट १८ किमी मुगुम कार्मारोङ्ग ९ छाईलको सुलसुले भिरसम्म पुगे पनि यो खोलामा पुल नहुँदा र खोला ठुलो भएकाले गाडीले खोला तर्न नसक्ने भएकोले बिरामीहरूलाई बोकेर जिल्ला अस्पताल तथा सदरमुकामसम्म पनि ल्याउन कठिन हुने गरेको छ । 

‘खोलामा पुल भइदिएको भए सडकमा सवारी साधनहरू नियमित हुन्थे बिरामीलाई समय मै जिल्ला अस्पताल र हवाई मार्ग भएर सुविधा सम्पन्न अस्पतालमा लिन सहज हुने थियो । अहिले पुल नभए कै कारण यो सडकमा यातायातका साधन चलेका छैनन् । मानिसहरूलाई आवत जावतमा समस्या भोग्नु परेको छ ।’, लुम्स गाउँका स्थानीय कम्बर ऐडी भन्नुहुन्छ । उहाँ सडक भएपनि सहज नभएको गुनासो गर्नुहुन्छ ।  

विगत बर्सहरूमा गमगाढ खोलामा पानीको बहाव बढेमा र बाढी आएमा मानिसहरू चाटया बगर र हाडढुन्गा भन्ने स्थानमा रहेका झुलुन्गे पुलको वैकल्पिक बाटो भएर खोला तर्ने गर्दथे । २०७९ साल असोज १७ देखि २३ गतेसम्म परेको एक हप्ते पानीले गमगाढ खोलामा बाढी आएर ती दुवै पुल बगायो । झोलुङ्गे पुल बगाएसँगै मानिसहरूलाई खोला तर्ने अन्य कुनै विकल्पहरू नहुँदा जोखिमपूर्ण तरिकाले खोला तर्नु परिरहेको हो । गमगाड खोलामा पुल नभएका कारण मुगुम कार्मारोड गाउँपालिकामा जाने सडक नियमित र सुचारु नहुँदा मानिसहरूले मात्र सास्ती पाएका छैनन् ३५ गाँउहरुमा हुने विकास निमार्णका लागि बाहिरबाट ल्याउनु पर्ने निमार्ण सामाग्रीहरू  ढुवानीमा समेत समस्या भइरहेको छ । जसकारण यहाँ सञ्चालित विकास आयोजनाहरूसमेत  प्रभावित हुने गरेका छन् ।

यो खोलामा छायानाथ रारा नगरपालिकाले प्रत्येक बर्खामा काठको साँघु हाल्दै आएपनि बाढीले सधैँ साँघु बगाउने गरेको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले बताउनुभयो ।  यो वर्ष पनि नगरपालिकाले काठको साँघु बनाउन ४ लाख छुटाएर काम शुरु गरी सकेको उपप्रमुख मल्लले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो,‘नगरपालिकाको त्यो ठाउँमा स्थायी झुलुन्गे पुल राख्ने योजना थियो तर यही खोलामा सडक डिभिजन कार्यालय जुम्लाले गाडी गुड्ने स्थायी पुलको ठेक्का खोली सकेको बताएकाले दोहोरो खर्च नहोस् भनेर पुल नबनाएका हौँ’ उपमेयर मल्लको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button