काँग्रेसको ‘विशेष अभियान’ सम्पन्न, ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयअनुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्य बाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो ।
सोहीबमोजिम प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिसँग समन्वय र परामर्श गरी निर्धारित कार्य योजनाअनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमिति सम्मका कार्यक्रम तोकिए बमोजिमको समयसीमाभित्रै सम्पन्न गरिएका छन् ।
प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहका साथ अहोरात्र खटिनुहुने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
अभियानले पार्टीको साङ्गठनिक अवस्थाबारे विधानसम्मत भए/नभएको साक्षात् परीक्षण गरिएको र पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउने महत्त्वपूर्ण कार्य गरेको केन्द्रीय कार्यालयको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।
अभियानअन्तर्गत निर्वाचनमा पार्टीले जारी गरेको सङ्कल्प पत्रअनुसार जनप्रतिनिधिले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा सङ्कल्प–पत्रको आधारमा कार्य गर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्ने गराउने कार्य भएको केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।
समग्रमा अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सहज भए तापनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँचभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयाभाव भएको प्रतिनिधिको गुनासोलाई मध्यनजर गरी आगामी कार्यक्रम थप व्यवस्थित गर्दै लगिने पार्टी कार्यालयले जनाएको छ ।
अविरल वर्षा, बाढी पहिरो, डेङ्गु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी सङ्गठनलाई आह्वान गर्ने र यही भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उहाँले जानकारी बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्