तपाईँ सुन्दै हुनुहुन्छः

आइसियु सहितको भेन्टिलेटर मेसिन प्रयोग विहीन

धनकुटा । प्रविधि र उपकरण छ तर, सञ्चालन गर्ने जनशक्ति छैन । जनशक्ति नहुँदा कस्तो अवस्था हुन्छ भन्ने उदाहरण बन्दै गएको छ जिल्ला अस्पताल धनकुटा । जनशक्ति अभावकै कारण स्थापना गरिएको ३० महिना बित्दा पनि आइसियु सहितको भेन्टिलेटर मेसिन प्रयोगमा आउन सकेको छैन ।

दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ साल फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको दुई करोड रुपैयाँ खर्चेर ४ वटा आईसियू सहित १० बेडको कक्ष निर्माण गरेको थियो । तर निर्माण गरेको करिब ३० महिना बित्दा पनि सो कक्ष अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । आईसियू कक्ष सञ्चालन नहुँदा त्यहाँ रहेका आधुनिक उपकरण अलपत्र मात्र परेको छैन जीर्ण समेत बन्दै गइरहेको छन् । 

जनशक्ति अभावकै कारण सञ्चालन नहुँदा गम्भीर प्रकृति वा अवस्थाका बिरामीले भेन्टिलेटरको सेवा लिन पाएका छैनन् । भेन्टिलेटर र आईसियू सञ्चालनको लागि कम्तीमा एक एक जना फिजीसियन र एनएसथिसियोजोजिस्ट सहित थप कर्मचारीको आवश्यक पर्छ । आइसियु र भेन्टिलेटर जिल्लाको लागि अत्यावश्यक भएपनि आवश्यक कर्मचारी नहुँदा सञ्चालन गर्न नसकिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताब ठाकुर बताउनु हुन्छ । 

सो कक्ष सञ्चालनमा नआउँदा बिरामीहरू धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पताल लगायतका स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता रहेको छ । आइसियु सहितको भेन्टिलेटर सञ्चालन हुँदा गम्भीर प्रकृतिका बिरामीले सहजै उपचार पाउन सक्थे ।  

तत्काल आइसियु सेवा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केही सेवा सहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटर सहितको आईसियू बेडका लागि आवश्यक उपकरण जडान गरिएको थियो  । जडान गरिएको आईसियू सेवा सञ्चालन गर्न पटक पटक पहल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ्गले जानकारी दिनु भयो । 

यसको सञ्चालनले धनकुटा मात्र होइन कोशी पहाडका सङ्खुवासभा, तेह्रथुम, भोजपुरका नागरिक समेत लाभ लिन सक्छन् । करौडौं रुपैयाँ खर्चेर ल्याइएको यस्ता उपकरण प्रयोग विहीन हुँदा सरकारको लगानी मात्र खेर मात्र गएको छैन, जुन उद्देश्यले ल्याइएको हो त्यस्ता नागरिक सेवाबाट समेत वञ्चित हुनुपरेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button