तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन संविधानको रक्षाका लागि : उपप्रधानमन्त्री खड्का

भैरहवा । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताउनुभएको छ । उहाँले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै उहाँले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरिएको दाबी गर्नुभयो । कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारपछि काँग्रेसले राष्ट्रपतिदेखि चार वटा प्रदेशमा सरकारको नेतृत्व गरेको बताउनुभयो ।

file photo

उपप्रधान मन्त्री खड्काले सङ्घले बनाउनुपर्ने सबै सङ्घीय ऐनहरूलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसद्मा लैजाने बताउनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र सङ्घीय प्रहरी ऐन, समानान्तर रूपमा अगाडि बढेको र चाँडै नै संसद्मा पेस गरिने बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले ढिलोमा आठ–दश दिनभित्र सङ्घीय शिक्षा ऐन पनि संसद्मा जाने बताउनुभयो । उहाँले आवश्यक ऐन सके यसै अधिवेशनमा एवं अन्यलाई हिउँदे अधिवेशनमा पेस गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताउनुभयो । ऐनहरू संसद्मा पेस गर्नुअघि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी अगाडि बढ्ने उहाँले बताउनुभयो ।

भैरहवामा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका कार्यकर्ताले पूर्व गृहमन्त्री समेत रहनुभएका कांग्रेस नेता बालकृष्ण खाँणलाई नियतवश फसाइएको बताउँदै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । सरकारमा कांग्रेस रहे पनि खाँणलाई चाहिने आवश्यक सहयोग नगरेको कार्यकर्ताको गुनासो थियो ।

कांग्रेसका उपसभापति समेत रहनुभएका खड्काले भन्नुभयो, “जिम्मेवारीमा रहेका नेतासँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता काँग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button