तपाईँ सुन्दै हुनुहुन्छः

आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद

करिमगञ्ज (आसाम) । आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ ।

आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । “लागू औषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,” अभियुक्तविरुद्ध प्रारम्भिक कानुनी कारबाही थालिएको जानकारी दिँदै करिमगञ्ज जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भनेका छन् । 

यसअघि पनि करिमगञ्ज जिल्लामा खोकीको प्रतिबन्धित सिरफका ३१ हजार बोतल जफत गरिएको थियो । रासस र एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button