भ्रष्टाचारका सबै फाइलको अनुसन्धान सिआइबीबाटै हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा
धनकुटा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका सबै फाइल खोलेर त्यसको छानबिन सिआइबीबाटै हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्माले शरणार्थी र ललिता निवास प्रकरणको जस्तै सिआइबीले नै सुन प्रकरणको अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारमा रहँदा दाँयाबाँया भयो भने संसद् ठिक पार्ने वा भङ्ग गर्ने र सरकारमा नहुँदा सदन चल्न नदिने एमालेको प्रवृत्ति गलत भएको बताउनुभयो । शर्माले उच्च स्तरीय छानविन आयोगको गठन दक्ष निकायबाट नहुने भएकोले अनुसन्धानमा जानकार सिआइबीले नै अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस वा कम्युनिष्ट जो परे पनि भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर आफूहरू लागिरहेको उहाँको भनाइ छ । कानुनभन्दा माथि कोही नभएको भन्दै सरकारले निरन्तर सदाचार र सुशासनको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
महामन्त्री शर्माले कांग्रेस देशको जेठो पार्टी भएकाले देश बनाउन अन्य दल भन्दा जिम्मेवार रहेको दाबी गर्नुभयो ।
परक प्रसङ्गमा महामन्त्री शर्माले भ्रष्टाचारको फाइल खोल्दा गृहमन्त्री भइसकेका मान्छे समेत खोरमा गएकाले स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधिले सजग भएर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले अख्तियार दुरुपयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०५९, मुलुकी अपराध संहिता २०७४ काँग्रेसकै नेतृत्वमा बनेका कानुन भएको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्