छाडा पशुचौपायको व्यवस्थापन हुन् नसक्दा दुर्घटनाको जोखिम
बाँके । बाँकेमा छाडा पशु चौपाया व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिएको छ ।
स्थानीयले आफ्ना गाईगोरू छोड्दै जाने र सिमानाकाबाट भित्रिएका छाडा चौपायाका कारण समस्या विकराल बन्दै गएको हो । बाँकेका स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरे पनि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
विगत केही वर्षदेखि नेपालगन्ज र कोहलपुरको बजार क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले पनि छाडा पशु चौपायाको कारण दिनदिनै हैरानी खेपिरहेका छन् ।
जुन सुकै समयमा पनि नेपालगन्ज र कोहलपुरका बजार तथा मुख्य सडकहरू र ग्रामीण क्षेत्रका दोबाटोहरूमा मा जताततै छाडा पशु चौपायाको बथान देखिन्छ । छाडा पशु चौपायाका कारण किसानको बालीनाली नोक्सानीसँगै सवारी दुर्घटना समेत बढिरहेको छ । छाडा चौपायाको नियमन कहिँकतैबाट नभएपछि सडक दुर्घटनाक्रम सङ्गै खेतीपातीको क्षति समेत बढेको स्थानीयको भनाई रहेको छ ।
कोहलपुर १२ चपरगौडिका स्थानीय बासिन्दा भूपेन्द्र सुवेदी पनि सडकमा हिँड्दै गर्दा गोरुले हानेर घाइते हुनु भएको थियो त्यो बेला देखिको चोटले अहिले सम्म आफूले पीडा खेप्नु परेको गुनासो व्यक्त गर्नु हुन्छ। भूपेन्द्र मात्र पीडित हुनुहुन्न छाडा पशु चौपायकै कारण नेपालगन्ज कोहलपुर खजुरामा धेरै सडक दुर्घटना भइसकेका छन् ।
बाँकेका ८ वटै पालिकामा छाडा चौपायाको आतङ्क नै छ । विकराल समस्याका रूपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका जनप्रतिनिधिका लागि यो विषय अहिले टाउको दुखाई बनेको छ । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालेले छाडा चौपाया व्यवस्थापन गर्ने बताएपनि उचित व्यवस्थापन नहुँदा समस्या भइरहेको छ ।
छाडा पशुचौपाया व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरले राप्ती सोनारी गाउँपालिका सँग जि टु जेट गरेर एक महिना भित्र करिब ४०० गाई गोरुको व्यवस्थापन गर्ने नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताउनु भएको छ।
छाडा पशुचौपाया व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले भौतिक पूर्वाधार बनाउनका लागि राप्ती सोनारी गाउँपालिका लाई ३५ लाख रुपैयाँ निकासा गरेको उहाँको भनाई रहेको बताउनु भएको छ।
यस्तै कोहलपुर नगरपालिका पनि छाडा पशुचौपायको व्यवस्थापनमा जटायु कम्पनी सङ्ग समन्वय गरेर काम गरिरहेको नगरप्रमुख पूर्ण प्रसाद आचार्यको भनाई रहको छ। उहाँले चौराहको उत्तरपट्टि रहेको गौशालामा लगेर केही गाई व्यवस्थापन भइरहेको हुँदा पहिलेको तुलनामा अहिले धेरै कम छाडा पशु चौपाय देखिने गरेको बताउनु भएको छ।
छाडा पशुचौपायका कारण बाँकेमा आर्थिक वर्ष ०७७÷०७८ मा १८ ओटा घटना भएकोमा १० जनाको मुत्यू र ८ जना घाइते भएका थिए भने आर्थिक वर्ष ०७८÷०७९ मा ३५ ओटा दुर्घटना भएको मा २० जनाको मुत्यू भएको थियो भने १५ जना घाइते भएका थिए भने आर्थिक वर्ष ०७९÷०८० मा १२ ओटा दुर्घटना भएकोमा १० जनाको मुत्यू भएको थियो भने २ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो ।
छाडा पशु चौपाया व्यवस्थापन गर्न सके ५० प्रतिशत सडक दुर्घटना कम हुने हुँदा सरोकारवाला निकायहरूले त्यसको व्यवस्थापनमा ध्यान दिन जरुरी देखिन्छ ।







प्रतिक्रिया राख्नुहोस्