अमेरिकाले चुनावी मुद्दालाई आफ्नो लाभका लागि उचालेको बङ्गालादेशकी प्रधानमन्त्री हसिनाको दावी
ढाका। संयुक्त राज्य अमेरिकाले बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको आरोप बङ्गालादेशकी प्रधानमन्त्री शेख हसिनाले बुधबार बताउनुभएको छ ।
अमेरिकाले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचन सम्पन्न गर्न र ‘मानव अधिकारको रक्षा’ का लागि भन्दै बङ्गालको खाडीमा नियन्त्रण कायम गर्न खोजेको र बङ्गलादेशलाई दबाब दिइरहेको प्रधानमन्त्री हसिनाले बुधबार बताउनुभएको हो ।
उसले ‘स्वतन्त्र र निष्पक्ष’ निर्वाचनको मुद्दा उठाएर यस क्षेत्रलाई अस्थिर बनाउन चाहेको उहाँले बताउनु्भयो । “बङ्गलादेशीको निर्वाचन र लोकतन्त्र अमेरिकाको उद्देश्य होइन,” हसिनालाई उद्धृत गर्दै स्थानीय अनलाइन पत्रिका बीडीन्यूज–२४ डट कमले उल्लेख गरेको छ ।
उहाँले भन्नु्भयो, “उनीहरू हिन्द महासागर र बङ्गालको खाडीक्षेत्रमा नियन्त्रण कायम गर्न लोकतन्त्र र निर्वाचनलाई प्रयोग गरेर बङ्गलादेशमा बहाना सिर्जना गर्न चाहन्छन् ।”
अमेरिकी विदेश मन्त्रालयले बङ्गलादेशको लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाएको भन्दै केही बङ्गलादेशी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
वासिङ्टनले यसअघि बङ्गलादेशको अपराध नियन्त्रणका लागि विशेष बल, ¥यापिड एक्सन बटालियनमाथि मानव अधिकारको घोर उल्लङ्घन गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो ।
हसिनाले आफ्ना पिता शेख मुजिबुर रहमानका स्वघोषित हत्यारा रशेद चौधरीलाई आश्रय दिएकोमा अमेरिकाको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो, “हत्यारालाई आश्रय दिने देशले कसरी मानव अधिकार, निर्वाचन र पारदर्शिताको कुरा गर्छ ?”सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्