मुलुकको अर्थतन्त्र ठिक बाटोमा अग्रसर : अर्थमन्त्री डा. महत

जनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सरकारको पछिल्लो नीतिका कारणले ठिक बाटोमा आउन थालेको बताउनु भएको छ ।
अर्थमन्त्री डा. महतले नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले मुलुकमा आर्थिक सुशासन स्वच्छ नीतिका साथ काम गरेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशतले आर्थिक वृद्धि हुने लक्ष्य लिएको बताउनु भयो ।
उहाँले वर्तमान सरकार वैदेशिक ऋण भन्दा पनि आर्थिक सहयोगका लागि विश्व बैङ्क सहितका निकायसँग सहकार्य गरिरहेको बताउँदै राजश्व बढाउने गरि काम गर्नुका साथै मुलुकको आर्थिक वृद्धि दर हाँसिल गर्नका लागि आर्थिक कारोबार बढाउने गरि बैङ्कको व्याज दर घटाउने काम भएको बताउनु भयो ।
उहाँले वर्तमान सरकारले मधेशको समृद्धि र विकासका कृषिलाई उच्च प्राथमिकतामा राखेर सिँचाई, मल तथा उन्न बीउ विजनको उपलब्धतामा जोड दिएको बताउनुभयो ।
अर्थमन्त्री महतले देशलाई खाद्यान्नमा आत्म निर्भर बनाउनका लागि १२ महिना नै मधेशका खेतखेतमा सिँचाई सुविधा प्रदान गर्नका लागि सुनकोशी मरिन डाइभर्सनको तथा हुलाकी राजमार्गको निर्माणका लागि उल्लेख्य बजेटको विनियोजन गरेको बताउनु भयो ।
पत्रकारको एक जिज्ञासामा अर्थमन्त्री डा. महतले अहिलेको गठबन्धन सरकारको परिवर्तनको विषयमा गठबन्धन दलका बीचमा कुनै विवाद नभएको बताउँदै काँग्रेस भित्र कुनै व्यक्तिको विचारलाई समग्र पार्टीको विचार नबुझिदिनका लागि आग्रह गर्नु भयो ।
उहाँले मधेशको समृद्धि र विकासका लागि सरकारले समुचित बजेटको व्यवस्थापन गरेको दाबी गर्दै बजेटमा कुनै प्रकारको विभेद नभएको बताउँदै बजेटको वितरण सबैतिर भएको दाबी गर्नु भयो ।
उहाँले नेकपा एमालेको अवरोधका कारणले जनताको आस्था र भरोसाका केन्द्र संसद् अवरोध भएर कतिपय महत्वपूर्ण विधेयकहरू सरकारले ल्याउन नसकेको बताउँदै सहमतिका लागि सरकारले अधिकतम लचिलो रहेको बताउनु भयो ।
नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राज सिंहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंह सहितका नेताहरू सहभागी रहनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्