तपाईँ सुन्दै हुनुहुन्छः

गत वर्ष १० प्रतिशत मात्र रोपाइँ भएको नरैनापुरमा यो वर्ष  ८० प्रतिशत रोपाइँ 

बाँके । गत बर्ष मौसमले साथ नदिँदा रोपाइँ गर्न नपाएका नरैनापुर गाउँपालिकालाई यसपाली भने मौसमले साथ दिएको छ। साउन महिनाको १५ लाग्दासम्म पानी नपाएर खेती लगाउन नपाएका किसानहरू साउनको अन्तिम साता परेको पानीले खेती लगाउन पाउँदा निकै हर्षित छन्।

नरैनापुर वडा नम्बर २ बेउचहवा गाउँका राम सुरत मौर्या आफ्नो ३० कट्ठा जग्गामा गतबर्ष १० कठ्ठा पम्पसेट बाट मात्र रोपेको तर अहिले समय भन्दा ढिलै भए पनि रोपाइँ  गर्न पाएको बताउनुहुन्छ । ढिला गरी पानी परे पनि आफ्नो सबै खेतीमा खेती गर्न पाएकोमा मौर्या औधी खुसी हुनुहुन्छ । मौर्या  रोपाइँको सिजनमा पम्सेट चलाउन महँगो डिजेल किन्नुपरेकोमा भने रुष्ट हुनुहुन्छ ।  

नरैनापुरका अधिकांश स्थानीय कृषिमा आश्रित छन् ।  नरैनापुरमा अहिले पनि रोपाई भइरहेको छ  । सामान्यतया तराईका जिल्लामा असार महिना भित्र रोपाइँ सकिसक्नु पर्ने हुन्छ। तर सिचाइको पर्याप्त सुविधा नहुँदा र मौसमले साथ नदिँदा पम्पसेट लगाएर भए पनि किसानहरू आजसम्म पनि रोपाई गरिरहेका छन् । 

सिँचाइको राम्रो प्रबन्ध हुन नसक्दा नरैनापुरका धेरै जसो किसानहरू खेतीका लागि आकाशको पानी कुरेर  बस्न बाध्य छन् ।  भनेको बेला  रासायनिक मल नपाउने समस्याबाट पनि यहाँका किसान पीडित छन् । ‘धान त रोपियो अब त्यसलाई जोगाउनै धौ धौ पर्ने  हुन्छ, पालिकाबाट केही पहल हुन्छ कि भन्ने आसमा दिनभरी पालिकामा गएर आफ्ना समस्या सुनाउने गरेको छु’, वडा नम्बर २ बेउचहवाका निसार अहमद खान बताउनुहुन्छ ।  

आफ्नो ४० कठ्ठा खेतीयोग्य जमिन भए पनि सिँचाइको समस्याका कारण गत वर्ष निसारले १५ कठ्ठामा मात्र रोपाइँ गर्नुभएको थियो । ढिला गरी वर्षा भए पनि यो वर्ष भने आफ्नो सम्पूर्ण खेतीमा रोपाइँ भएको उहाँले सुनाउनुभयो । डिजेल, मलखाद लगायतमा महँगी बढेका कारण यसपालिको खेती महँगो परेको गुनासो उहाँले गर्नुभयो । 

नरैनापुर गाउँपालिकामा ३ हजार ९ सय ६६ हेक्टर जमिन खेतीयोग्य रहेकोमा ३ हजार ७ सय ८ हेक्टर जमिनमा खेती गरिएको नरैनापुर गाउँपालिका कृषि शाखा प्रमुख सदन भण्डारी बताउनुहुँन्छ । उहाँले यसपाली नरैनापुरमा पालिकाको सहयोगमा  ठाउँमा डिप बोरिङ सञ्चालन गरिएको हुँदा रोपाइँका लागि गत साल भन्दा सहज भएको बताउनु भयो। उहाँले गाउँपालिकाले सिक्टा सिचाई अन्तरगतको नहर अर्को वर्षसम्म सञ्चालनमा ल्याउने बताउनु भयो।

यसपालि नै सम्पन्न भइसक्ने सिँचाइको काम स्थानीय केही व्यक्तिका कारण बाधा अवरोध सिर्जना भएको हुँदा तत्काल सञ्चालन हुन नसकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनु भयो । नरैनापुर गाउँपालिका  कृषि पकेट क्षेत्र हो । यो ठाउँ धान उत्पादनको लागि प्रचलित मानिन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका २,४ र ५ नम्बर वडालाई पूर्ण रुपमा धान पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक बबिन कुमार खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button