शिक्षा विधेयकबाट प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरणलाई प्राथमिकता दिँदै सङ्घीय शिक्षा विधेयकमा सम्बोधन हुनुपर्ने सवालबारे प्रमुख दलका सचेतकहरूलाई ध्यानाकर्षण गराएको छ ।
सो सञ्जालले तत्काल संसद्मा विधेयक दर्ता हुनुपर्ने र सरोकारवालासँग छलफल चलाउन माग पनि गरेको छ । मन्त्रिपरिषद्को यही साउन १६ गतेको बैठकबाट स्वीकृत सो विधेयक हालसम्म सदनमा दर्ता भएको छैन ।
एनसिई नेपालको टोलीले आज नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीलाई भेटेर ध्यानाकर्षण गराएको हो । सो संस्थाले आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई पनि १९ बुँदे सुझावपत्र हस्तान्तरण गरेको छ ।
सुझाव पत्रमा सार्वजनिक शिक्षाको गुणस्तरीय रूपान्तरणका साथै बालबालिका, युवा तथा प्रौढको शिक्षा, सिकाइ र सुरक्षाको सुनिश्चितता, शिक्षाको मौलिक हकको व्यवहारतः कार्यान्वयन र सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरण गरिनुपर्ने सम्बन्धमा सुझाव समावेश गरिएको एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभयो । सो सुझाव विज्ञ र सरोकारवालासँगको छलफलबाट तयार गरिएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्