पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा छौँ : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा आफूहरू लागेको बताउनुभयो ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५ ओैं वार्षिक साधारण सभा तथा ७ ओैं अधिवेशनको बुधबार पोखरामा उद्घाटन गर्दै मेयर आचार्यले पोखराको बृहत् विकासको लागि पनि पोखरा पर्यटनको राजधानी बनाउनु पर्ने भएकोले त्यसको अभियानमा लागेको बताउनु भएको हो ।
मेयर आचार्यले भन्नुभयो “हामीले यस अघि देखि नै पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गर्न माग गर्दा संघीय सरकारले यसलाई खासै चासो नदिएकोले अब गण्डकी प्रदेश सरकार र पोखरा महानगर मिलेर पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अभियानमा जुटेका छौँ, यसका निजी क्षेत्रको साथ र सहयोग आवश्यक पर्छ ।” पोखरालाई पर्यटनको राजधानी बनाउने कार्यमा आवश्यक पर्ने सम्पूर्ण मापदण्ड पूरा गर्दै जाने पर्यटनको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्ने मेयर आचार्यले बताउनु भयो ।

पोखराको विकासको अर्को मेरुदण्ड पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतसँग सहकार्य गरी दक्षिण हुँदै उत्तरको चीनसम्म अन्तर्राष्ट्रिय हवाई उडान गर्न आवश्यक पहल र सहकार्य गर्न आवश्यक भएको उहाँको भनाई थियो । सन् २०२४ जुन ३ तारिकमा फ्रान्सका २५ जना मेयर पोखरा आउने तयारी भएको उहाँले बताउनु भयो । फ्रान्सका नागरिक मौरिस हरजकले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गर्नु भएको थियो । मानव निर्मित पोखराको पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय म्युजियमको राम्रो मार्केटिङ हुन नसक्दा पोखरा आएका धेरै पर्यटक उक्त स्थलसम्म नपुगेको मेयर आचार्यले दाबी गर्नु भयो ।
संघका केन्द्रीय सचिव धन बहादुर गुरुङले सङ्घको भवन निर्माण गर्दा केही आर्थिक सहयोग गर्ने बताउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सगरमाथा हिमाल आरोहणको बढी चर्चा भएको अन्य हिमालको चर्चा र अन्य क्षेत्रले फाइदा लिन नसकेको गुनासो गर्नु भयो । संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले संसारको उत्कृष्ट शहर पोखरालाई सुन्दर सहित उत्कृष्ट बनाउन मेयर आचार्य समक्ष आग्रह गर्नु भयो ।
सल्लाहकार टीकाराम सापकोटाले यातायात असहज भएका कारण पोखराको पर्यटन प्रवर्धनमा असर परेको दाबी गर्नु भयो । पोखराको पर्यटन चीन र भारत केन्द्रित हुनु पर्ने बताउँदै उहाँले हिमाल पर्यटनमा पर्वतारोहण गाइड कम भएको जनाउनु भयो । उक्त अवसरमा पत्रकार दीपक परिवारलाई सङ्घले नगद १० हजार सहित सम्मान गरेको छ । संघका प्रदेश अध्यक्ष शेसकान्त शर्माको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको कार्यवाहक सचिव मनशान्त घिमिरेले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्