तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा गतवर्ष अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशत कम उद्योग दर्ता 

पोखरा । कास्कीमा आर्थिक वर्ष २०७८/०७९ मा भन्दा गत वर्ष २०७९/०८० मा ५७.९२ प्रतिशतले कम उद्योग दर्ता भएका छन् । गण्डकी प्रदेश अन्तर्गत कास्कीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयले दिएको तथ्याङ्क अनुसार कास्कीमा २०७८/०७९ मा भन्दा गत बर्ष २०७९/०८० मा उद्योग दर्ता गराउनेहरूको सङ्ख्यामा ह्वात्तै कमी आएसँगै करिब ५८ प्रतिशत कम उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।  

कास्कीमा आर्थिक बर्ष २०७८/०७९ मा २ हजार ३ सय ६५ वटा उद्योग दर्ता भएका थिए भने गत बर्ष २०७९/०८० कास्कीमा ९ सय ९५ वटा उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी कमल बहादुर केसीले बताउनु भयो । कोरोना सङ्क्रमणको प्रभावबाट देशमा आएको आर्थिक मन्दीका कारण कास्कीमा उद्योग धन्दा गर्ने सङ्ख्यामा ह्वात्तै कमी आएको उहाँले बताउनु भयो । उहाँका अनुसार कोरोनाको असरले गर्दा गत बर्ष देखि दैनिक जसो एक/दुई जना उद्योग दर्ता खारेजी गर्न आउने गरेका छन् । 

विभिन्न उद्योगहरू मध्य पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेहरूको सङ्ख्यामा केही बढी रहेको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७९/०८० मा पर्यटन मूलक ३ सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा मूलक र खनिज उद्योगमा भने एउटा उद्योग पनि दर्ता हुन सकेनन्। गत बर्ष कास्कीमा कृषि तथा वनपैदावार उद्योग तर्फ ३ सय १७, सेवामूलक उद्योग तर्फ १ सय ९८, उत्पादनमूलक उद्योग तर्फ १ सय ३५, सूचना प्रविधिमा आधारित ७ वटा उद्योग दर्ता भएको सूचना अधिकारी केसीले बताउनु भयो । 

त्यसैगरी कास्कीमा आर्थिक बर्ष २०७८/०७९ मा सबै भन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित ८ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा मूलक र खनिज उद्योगमा भने एउटा उद्योग पनि दर्ता नभएको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै पर्यटनमूलक उद्योगमा ७ सय ४, सेवामूलक उद्योगमा ५ सय ४७, उत्पादनमूलक उद्योगमा २ सय १६, सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको सूचना अधिकारी केसीले बताउनु भयो । 

कास्कीमा आर्थिक बर्ष २०७८/०७९ मा ४ अर्ब ८९ करोड ५२ लाख ६० हजार पुँजी लगानी भएको थियो भने गत बर्ष २०७९/०८० मा ३ अर्ब २७ करोड १९ लाख ५९ हजार पुँजी लगानी भएको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७८/०७९ मा २ हजार ६ सय ११ जना महिला सहित ४ हजार ८ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सृजना भएको थियो भने गत बर्ष २०७९/०८० मा १ हजार ७ सय ५१ जना महिला सहित ३ हजार ९ सय ६७ जनाले रोजगार प्राप्त गरेका थिए । 

आर्थिक बर्ष २०७८/०७९ मा नामसारी १ सय ५३, पुंजिवृद्धि १ सय ९४, ठाँउसारी ७७, नवीकरण ७ सय ४६ र लगत कट्टा गर्ने उद्योगको सङ्ख्या १ सय ४५ वटा रहेका थिए । त्यस्तै गत बर्ष २०७९/०८० मा नामसारी २ सय ३४, पुंजिवृद्धि २ सय ५३, ठाँउसारी १ सय १३, नवीकरण १ हजार ५ सय ९३ र लगत कट्टा गर्ने उद्योगको सङ्ख्या १ सय ५० वटा रहेका थिए । कास्कीमा हालसम्म २३ हजार ६ सय २९ वटा विभिन्न प्रकृतिका उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button