स्थायीका लागि आन्दोलन गर्दागर्दै जागिरे उमेरै सकियो

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३ का अन्तराम जोशी अहिले ६० बर्ष पुग्नुभयो । उहाँ आफ्नै पहलमा वि.स.२०४३ सालमा खुलेको चनैराज माध्यमिक विद्यालयका खरिदार पदमा कार्यरत हुनुहुन्छ । ३७ वर्षसम्म विद्यालय कर्मचारीको अस्थायी जागिर खाएका उनी दाह्री/कपाल सेताम्य हुँदासम्म पनि आन्दोलनमै हुनुहुन्छ ।
उहाँले विद्यालय कर्मचारीहरूको स्थायी कोटा माग गर्दै पहिलो पटक २०५२ सालमा सानोठिमी भक्तपुरमा आन्दोलन गरेको सुनाउनुभयो । जोशी अहिले पनि विद्यालय कर्मचारीहरू सँगै आन्दोलनहरूमा भेटिनुहुन्छ । “पहिलो पटक विद्यालय कर्मचारीका माग सरकारलाई सुनाउन ०५२ सालमा काठमाडौँ गए, सानोठिमी भक्तपुरमा आन्दोलन गर्यौँ, बहादुर खडकालाई आन्दोलनको नेता बनायौँ, शिक्षा ऐनमा विद्यालय कर्मचारीको दरबन्दी प्रस्ट्याउन आवाज उठाउँदा केही सुनुवाई भएन । अहिले नयाँ शिक्षा ऐन आउदैछ भन्ने सुनेकाले यसमा केही सुनुवाई होलाकी भन्ने आशा छ ।” जोशीले भन्नुभयो ।
जोशीले भारतको गाजिँयावादबाट एसएलसी पास गरेको बताउनुभयो । उहाँले १०बर्ष पारिश्रमिक बिनै विद्यालयको प्रधानाध्यापकको भूमिकामा रही अध्यापन समेत गर्नुभएको हो । वि.स.२०५६ सालदेखि मासिक तलब रु २५०, र लामो समय ३०० तलबमा काम गर्नुभयो । केही समय ८ हजारमा काम गर्नुभएका उहाँको तलब हाल भने मासिक तलब रु २०हजार ५सय छ । उक्त तलब २बर्ष यता पाउन थालेको जोशी बताउनुहुन्छ ।

जोशीले बुवाको गाली खादाँखादैँ २०४३ सालमा विद्यालय स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष घनश्याम भट्ट बताउनुहुन्छ । “उहाँले नै २०४३साल माघ २१मा स्कुल स्थापना गर्नुभएको हो, प्राविधिक कारणले स्थायी हुन सक्नु भएन, उहाँ भन्दा पछि आएका शिक्षक उमेर हदले अवकाश भएर गइसके, उहाँको अवस्था यस्तै छ । जतिदिन सम्म हाजिर लगाउन पाइन्छ त्यतिबेला सम्म अस्थायी जागिर कायम रहन्छ, पछि के हुने हो केही भन्न सकिन्न ।”उहाँले भन्नुभयो,“घर परिवारको साथ नपाउँदा पनि उ बेलामा स्कुल स्थापना गरि सबैलाई शिक्षित बनाउने व्यक्तिलाई सरकारले केही न केही व्यवस्था भने गर्नुपर्छ ।”
३७ बर्ष अगाडी जोश जागरका साथ विद्यालय स्थापना गरेका जोशीको स्वास्थ्य अवस्था अहिले कमजोर भैसकेको छ ।
नेपाल सरकारको कर्मचारीले ६०बर्ष अगावै अवकाश हुने व्यवस्था छ । ६० वर्षको उमेर पुग्दा सम्म अस्थायी जागिरमै जीवन बिताएका अन्तरम जोशी जस्ता पात्रहरूका लागि नयाँ आउन लागेको शिक्षा ऐनले विद्यालय कर्मचारीका माग सम्बोधन गर्नुपर्ने अभियन्ताहरूको माग छ ।
शिक्षक लक्ष्मण भट्टले भन्नुभयो,“शिक्षक कोही अस्थायी, कोही राहत, कोही स्थायी भन्दा पनि एकै स्तरको होस, विद्यालय कर्मचारीहरूको उचित व्यवस्थापन होस् ।”
वि.स. २०२८ पछि दोस्रो पटक आउन लागेको शिक्षा ऐनले शिक्षक र विद्यालय कर्मचारीका मागहरू सम्बोधन गर्नुपर्ने भन्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरू जारी रहेको शिक्षक नेता दल बहादुर कार्कीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्