जमुनाह नाकाबाट झण्डै एक अर्बको आलु आयात

बाँके । आ.व. २०७९/८० मा नेपालगन्ज स्थित नाकाबाट झण्डै एक अर्ब मूल्य बराबरको आलु आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको आलु भित्रिएको हो । ३ करोड ७५ लाख ८५ हजार ८८ केजी आलु भित्रिएको नेपालगन्ज भन्सारको तथ्याङ्क रहेको छ ।
नेपालगन्ज नाकाबाट आलु पैठारी भने आ।व। २०७८/०७९ को तुलनामा घटेको छ । आ.व. २०७८/०७९ मा ४ करोड ४० लाख ९८ हजार ६ सय ९४ केजी आलु भित्रिएको थियो । उक्त आलुको मूल्य १ अर्ब १० करोड ८३ लाख ५५ हजार रहेको थियो । आलु आयातबाट नेपालगन्ज भन्सारले आ.व. २०७८/०७९ मा १५ करोड ६४ लाख ३८ हजार र गत आ।व। २०७९/८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

भारत, पेरु, बङ्गलादेश, चीन, दक्षिण कोरिया, नेदरल्याण्ड, अस्ट्रिया, जर्मनी, पोल्याण्ड, सिंगापुर, बेलायत लगायतबाट नेपालमा आलु आयात हुने गरेको छ । सबैभन्दा बढी आयात हुने तरकारीमध्ये आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरकारले हरेक बर्ष बजेट भाषणमा नेपालका नेपालीलाई तरकारीमा आत्मनिर्भर हुने बताउँदै आएको छ तर कार्यान्वयन भने हुन सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्