अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताउनुभएको छ । प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णय समेत गरिने स्पष्ट पार्नुभयो ।

उद्योगी व्यवसायीका तीन वटा छाता सङ्गठनका पदाधिकारीसँग आज आयोजित छलफलमा उहाँले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
अध्यक्ष ढकालका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मङ्गलबार आवश्यक निर्णय लिइने बताउनुभयो । सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो । यद्यपि केही प्राविधिक जटिलताका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
आजको भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताउनुभयो । अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन । अध्यक्ष ढकालका अनुसार प्रधानमन्त्री दाहालले जग्गा कित्ताकाट लगायत अन्य विषयसमेत कार्यान्वयनमा जाने बताउनुभएको थियो ।

निजी क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताउनुभयो ।
विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबिचको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताउनुभएको थियो ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अङ्गले सरकारलाई साथ दिनुपर्ने बताउनुभयो ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले आयोजना गर्नुभएको छलफलमा उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्