तपाईँ सुन्दै हुनुहुन्छः

बहिरा अपाङ्ग बालबालिका पढ्न लेख्न पाउँदा निकै उत्साहित 

बाँके । बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रहेको रेरी बाँकेद्वारा सञ्चालित बहिरा अपाङ्ग बालगृहमा ४४ जना भन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिकाहरू रहेका छन् । रेरी बाँकेले बहिरा अपाङ्ग बालबालिकाहरूको लागि निःशुल्क रुपमा खाने बस्ने व्यवस्था सहित बालगृह सञ्चालनमा ल्याएको छ।

उक्त बालगृहमा बस्दै आएका बहिरा अपाङ्ग बालबालिकाहरू मध्य श्री दहित आधारभूत माध्यमिक विद्यालयमा ३७ जना बहिरा विद्यार्थी भाइबहिनीहरू निःशुल्क अध्ययन गर्ने गर्दछन् भने बाँकी सूर्योदय उच्च मावि चिसापानीमा अध्ययनरत छन् । विद्यालयमा जुम्ला , हुम्ला, मुगु, कालिकोट दैलेख बाँके बर्दिया दाङ लगायतका विभिन्न जिल्लाहरूबाट आएका बहिरा विद्यार्थीहरूलाई साङ्केतिक भाषामा पढाइने गरेको उक्त विद्यालयमा दोभासे रुपमा समेत काम गर्दै आएकी शिक्षिका शान्ती शर्माले जानकारी गराउनु भयो।

उहाँले १ कक्षा देखि ३ कक्षासम्मका बहिरा विद्यार्थीहरूलाई मात्र छुट्टै राखेर पढाउने गरेको र त्यसपछि ४ कक्षादेखि ८ कक्षासम्म त्यही विद्यालयमा पढाइने र माध्यमिक र उच्च माध्यमिक तहको पढाइका लागि सूर्योदय मावि चिसापानीमा लगिने गरिएको बताउनु भयो। दिनभर विद्यालयमा र साझ र बिहान बालगृहमा रमाउने विद्यार्थी भाइ बहिनीहरू चाडपर्व लगायत लामो छुट्टीको बेला आफ्नो आफ्नो घर जाने व्यवस्था समेत रेरी बाँकेले गरेको छ।

सोमबार एक बजेको समयतिर हामी विद्यालयको प्राङ्गणमा पुग्दा बहिरा अपाङ्ग बालबालिकाहरू निकै खुसी हुँदै खेल्दै उफ्रिँदै थिए । कहिबेर खेलेपछि उनीहरूलाई कक्षा कोठामा लगेर साङ्केतिक भाषामा पढाउने शिक्षिका अन्जु परियारले उत्साहित हुँदै पढाउनु भयो । बहिरा अपाङ्ग भएर पनि आफूहरूले पढ्न लेख्न पाउँदा बालबालिका निकै हर्षित भएका थिए। विद्यालयमा हाल २ जना मात्र बहिरा अपाङ्ग शिक्षक शिक्षिकाले पढाउँदै आइरहेका छन् ।

विद्यालयमा साङ्केतिक भाषा पढाउने शिक्षक शिक्षिका सङ्गसङै भौतिक पूर्वाधार जस्तै खेलमैदानको समेत अभाव रहेको समेत विद्यालय परिवारले जानकारी गराएको छ। बहिरा अपाङ्ग बालबालिकाहरूको लागि विशेष खालको कार्यक्रम ल्याइनु पर्ने र उनीहरूको भविष्यको लागि स्थानीय सरकार मात्र नभई प्रदेश र केन्द्रिय सरकार समेत निरन्तर लागि रहनु पर्ने साङ्केतिक भाषा पढाउने बहिरा अपाङ्ग शिक्षिका अन्जु परियारले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button