तपाईँ सुन्दै हुनुहुन्छः

इलामको बेलासेलाई जलवायु अनुकूलित गाउँ बनाउने 

इलाम । इलाम नगरपालिका ११ मा रहेको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाइने भएको छ । नामसालिड. सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामले क्यानेडियन राजदूतावासको  सहयोगमा  बेलासेमा जलवायु अनुकूलन सम्बन्धि परियोजना थालेको छ । यो कार्यक्रममा इलाम नगरपालिका र एनसीडिसीले पनि लगानी गर्ने जनाइएको छ । 

‘नमुना जलवायु अनुकूलित गाउँ मार्फत जलवायु उत्थानशीलता बढाइँ प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपहरूको प्रभाव न्युनिकरण गर्ने’ परियोजना आठ महिना सम्म सञ्चालन हुने जनाइएको छ । यो क्षेत्र जलवायु परिवर्तनको हिसाबले जोखिममा रहेको , बस्ती माथि पानीको श्रोत सुकेको , सम्भावना भएको तर जोखिम क्षेत्र भएकोले जलवायु अनुकूलित बनाउन पहल थालिएको छ । 

कार्यक्रम मार्फत जलवायु अनुकूलन योजना निर्माण गरिने  एनसीडिसीका कार्यक्रम अधिकृत सुबोध निरौलाले बताउनु भयो । कार्यक्रम सञ्चालनको लागि सरोकारवाला निकाय तथा स्थानीय बासी सँग छलफल गरिसकिएको उहाँको भनाई छ । बेलासेको ५० घर परिवार माईखोला नजिक रहेकोले माईखोलाको सम्भावित जोखिम र जलवायु परिवर्तनको हिसाबले संवेदनशील रहेको उहाँको भनाई छ । 

माइखोलाको पानी सोलार सिस्टमबाट लिफ्टीड. गरी गाउँमा पुर्‍याइने , प्रत्येक घरमा पानीको सुविधा पुर्‍याई बाझो जमिनमा जलवायु मैत्री कृषि प्रणाली  सुरु गर्न परियोजना मार्फत तालिम र विउविजन समेत वितरण गरिने निरौलाले बताउनु भयो । 

इलाम झापा  द्रुतमार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने एनसीडिसीका टिम लिडर हिराकाजी घलेले जानकारी दिनु भएको छ । इलाम नगरपालिका ११ का वडाध्यक्ष टासी जवेगुले बेलासे क्षेत्रमा स्थानीय लक्षित कार्यक्रम प्रभावकारी बन्ने बताउनु भयो । 

सुख्खा क्षेत्रमा पर्ने यो बस्तीमा परियोजना मार्फत बेलासेको बाँझो जमिन सिचाई गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको छ । माइखोला आसपासको बेलासेमा हजारौँ  जमिन बाँझै रहेको र त्यहाँ सिचाईको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्तामको भनाई छ । 

परियोजना कुल ६५ लाख ४५ हजार ६ सय ३६ लागतमा सञ्चालन हुने जनाइएको छ । 

इलाम नगरपालिका , क्यानेडियन राजदूतावास र एनसिडिसीको साझेदारीमा नमुना गाउँ निमार्ण गर्न नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा राखेको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button