उर्दू भाषाको संरक्षणका लागि नेपालगञ्जमा गजल गोष्ठी
बाँके । विभिन्न साहित्यिक गतिविधि बढ्दै गएको बाँकेमा पछिल्लो समयमा उर्दू भाषाको संरक्षणका लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।
नेपालगञ्जका उर्दू साहित्यकारहरूको सङ्गठन गुल्जार–ए– अदबले उर्दु भाषाको संरक्षण र संवर्द्धनका लागि शनिबार गुल्जार–ए–अदबले नेपालगञ्जमा मासिक उर्दू गजल गोष्ठीको आयोजना गरेको छ ।

गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आइरहेकोमा सोही अनुसार स्थानीय महेन्द्र पुस्तकालयमा गजल गोष्ठीको आयोजना गरिएको थियो ।
गजल गोष्ठीमा ‘फिर यूँ हुआ कि वो भी सर–ए–दार आ गया’ भन्ने मिसरामा उर्दू साहित्यकारहरूले तयार गरेर ल्याएको गजल वाचन गरिएको थियो ।
नेपालगञ्जका उर्दू साहित्यकार सैयद असफाक रसूल नेपालीको अध्यक्षता, असर नेपालीद्वारा सञ्चालित उक्त गोष्ठीमा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, असर नेपाली लगायत उर्दू साहित्यकारहरूले गजल वाचन गर्नुभएको थियो।
सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले उर्दू साहित्य अति नै मिठो र सभ्य साहित्य मानिने हुँदा सो साहित्यको संरक्षण र संवर्द्धनमा जोड दिनुभयो।
उहाँले गुलजार ए अदबले लामो समयदेखि उर्दू साहित्यको विकासका लागि विभिन्न काम गर्दै आएकाले त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्