ठूलो आलु उत्पादक कृषकलाई पुरस्कार !
दोलखा । आलु उत्पादनको महत्वपूर्ण केन्द्र दोलखाको शैलुङ गाउँपालिका ८ शैलुङले दोस्रो आलु प्रवर्द्धन कार्यक्रम– २०८० सम्पन्न गरेको छ ।
कार्यक्रममा सबैभन्दा ठूलो र स्वस्थ आलु उत्पादन गर्ने कृषकलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सहभागीमध्ये सबैभन्दा ठूलो ३ दशमलव १८८ केजीको आलु उत्पादन गर्ने शैलुङ मनगाँउका कृषक भम्बु बहादुर कार्की प्रथम भएका छन् । त्यसैगरी ३ दशमलव ०७८ केजीको आलु उत्पादन गर्ने झोरका कृषक केशव श्रेष्ठ द्वितीय, २ दशमलव ७४१ केजीको आलु उत्पादन गर्ने मनगाँउका कृषक विशाल श्रेष्ठ तृतीय र २ दशमलव ७११ केजीको आलु उत्पादन गर्ने झोरका प्रमिला परियार सान्त्वना भएको वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर तामाङले बताउनुभयो ।
कार्यक्रममा सहभागीमध्ये १ दशमलव ८८४ केजीको आलु उत्पादन गर्ने मिन बहादुर विश्वकर्मालाई सहभागीको रुपमा पुरस्कृत गरिएको वडा नम्बर ८ का कर्मचारी दिपेश श्रेष्ठले बताउनुभयो ।
पहिलो पटक २०७९ मा आयोजना गरिएको आलु प्रवर्द्धन कार्यक्रमले कृषकहरूलाई उत्साहित बनाएको र आलु प्रवर्द्धनमा समेत सहयोग पुगेकोले यसलाई निरन्तरता दिइएको वडा अध्यक्ष धनबहादुर तामाङको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्