तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न

वीरगञ्ज । वीरगञ्जका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज वीरगञ्ज साइक्लिङ क्लबले १५ किलोमिटरको वीरगञ्ज कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले धार्मिक पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमले ठोस सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शारीरिक तन्दुरुस्तीका साथै नगर क्षेत्रका पर्यटकीय स्थलहरूलाई चिनाउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने बताउँदै वातावरणमैत्री साइकलको प्रयोगबाट व्यक्तिगत स्वास्थ्य र वातावरण जोगाउन समेत सहयोग पुग्ने बताउनुभयो ।

वीरगञ्जको माई स्थानबाट सुरु भएको कोरा साइक्लिङ पावर हाउस चोक, चिनिमिल आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, बाइपास सडक खण्ड, प्रतिमा चोक, बसपार्क, वैष्णोदेवी मन्दिर, शङ्कराचार्य द्वार, बिर्ता मन्दिर, होटेल मकालु र गीता मन्दिर हुँदै पुनः माइस्थान चोकमा आएर समापन गरिएको वीरगञ्ज साइक्लिङ क्लबका अध्यक्ष संजय अग्रवालले बताउनुभयो ।

उहाँले साइक्लिङमा १ सय भन्दा बढीको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।

कुनै पनि तीर्थस्थललाई केन्द्रमा राखेर घडीको दिशामा परिक्रमा गर्नुलाई कोरा भनिन्छ । २०११ मा पहिलो पटक काठमाडौँबाट सुरु भएको कोरा पछिल्लो समय लोकप्रिय बन्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button