तपाईँ सुन्दै हुनुहुन्छः

साइबर सचेतना प्रभावकारी बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यसँगको भेटमा उहाँले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसको सचेतनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

file photo

सरकारले चालु आर्थिक वर्षको बजेटमा डिजिटल साक्षरताका कार्यक्रम अघि सारेको जानकारी दिँदै उहाँले मन्त्रालय मातहतका अन्य निकायबाट पनि यस्ता कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

नेपालमा पहिलो पटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । साइबर सुरक्षाका लागि निरन्तर अनुगमन गरी सुरक्षित ‘अनलाइन स्पेस’ निर्माण गर्ने कामलाई पनि साइबर सुरक्षा नीतिको प्रमुख बनाइएको उल्लेख गर्दै मन्त्री शर्माले महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिविरुद्ध लक्षित अनलाइन सेवालाई निषेध गर्ने नीति लिइएको बताउनुभयो ।

इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं विभेद अन्त्य गर्ने नीतिको उद्देश्य रहेको उहाँले स्पष्ट गर्नुभयो । सूचना प्रविधि क्षेत्रमा विपन्न वर्गको पहुँच स्थापित गर्न विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा छात्रवृत्तिको व्यवस्था गरिएको स्पष्ट गर्दै मन्त्री शर्माले यसमा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

क्यान महासङ्घ, सूचना प्रविधिमा महिला समितिले ज्ञापनपत्र बुझाउँदै सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सचेतना कार्यक्रम चलाउनुपर्ने, मेन्टरशीप र नेटवर्किङका अवसर उपलब्धि गराउनुपर्ने, विविधता र समावेशीकरणलाई प्रवर्द्धन गरी महिलाका लागि अवसर विस्तार गर्नुपर्ने माग राखेको थियो ।

सरकारी विद्यालय पढेका, आयस्रोत कमजोर भएका, दुर्गम क्षेत्रका महिला सदस्यलाई छात्रवृत्ति प्रदान गरी मानव संसाधन विकास गर्नुपर्ने, महिला केन्द्रित प्राविधिक समुदायसँग सहकार्य बढाउनुपर्ने, भाषा, कनेक्टिभिटी, सरकारी वेबसाइटलाई समावेशी र अपाङ्गतामैत्री बनाउनुपर्ने, साइबर अपराध न्यूनीकरण गर्नुपर्ने, डिजिटल वित्तीय साक्षरतामा जोड दिनुपर्ने लगायतका माग समितिले राखेको थियो । कार्यसमिति सदस्य तथा सूचना तथा सञ्चार प्रविधि महिला संयोजक रिना श्रेष्ठले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button