तपाईँ सुन्दै हुनुहुन्छः

 काकाकुल गमगढी : दुई दशक पुरानो आयोजनाले कसरी मेट्ने प्यास ?

मुगु  ।  २०५६ सालमा गमगढी बजारमा रहेका ९० घरलाई लक्षित गरि वितरण गरिएको खानेपानी दुई दशक भन्दा बढी समय बिती सक्दा पनि सुधार हुन सकेको छैन । 

बढ्दो जनसख्या,बजारीकरणसँगै खानेपानी वितरणमा समयानुकूल सुधार,मर्मत र थप विकासका कार्य नगरिँदा यत्तिखेर गमगढी बजार काकाकुल हुन बाध्य छ । 

माग बराबरको खानेपानी उपलब्ध नहुँदा अहिले यहाँका खानेपानी उपभोक्ता संस्थाले लोडसेडिङ गरेर बजारवासीलाई खानेपानी वितरण गरिरहेका छन् ।  

तत्कालीन समयमा गमगढी बजारमा २०० घर जति थिए ।  त्यो बेला यहाँका ९० घरधुरीलाई लक्षित गरि खानेपानीको व्यवस्था गरिएको थियो । अहिले गमगढी बजारमा घर बढेर ७०० भन्दा बढी पुगिसकेका  छन् । जनसङ्ख्या व्यापक बढेपनि वितरण गरिएको उही पुरानो खानेपानीमा कुनै पानीको स्रोत थप गरिएको छैन ।

खानेपानी कार्यालयबाट पटक पटक पाइपलाइन मर्मत र रिवर्ज ट्याङ्की बनाई दिएकाले मुहानबाट आएको पानी जम्मा गरेर बजारलाई दुई भागमा विभाजन गरि बिहान एक भागलाई र बेलुका १ भागलाई दिनमा १ घण्टा पानी दिँदै आइएको गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गोर्ख बहादुर मल्ल बताउनु हुन्छ ।

‘पानीको स्रोत कम छ, दिनभर र रात भर १०० घन मिटरका २ वटा ट्याङ्कीमा जति पानी जम्मा भयो बजारमा त्यति पानी पठाउने हो’, अध्यक्ष मल्लले बताउनुभयो ।

देश सङ्घीयतामा नजाँदै जिल्लामा रहेको खानेपानी कार्यालयले मर्मत सम्भार गरिदिने,आवश्यक पाइपहरू उपलब्ध गरि दिने जस्ता काम गरिदिँदा खानेपानी वितरण र उपलब्धता नियमित थियो तर अहिले २०७४ यता बजार बासीलाई खानेपानी नियमित गर्न कठिनाइ भएको उहाँले बताउनुभयो  । 

बढ्दो जनसङ्ख्या र बजारीकरणले गर्दा हाल वितरित खानेपानीको क्षमताले बजार धान्दैन । मुहानदेखि मुखसम्म रहेका खानेपानीका पुराना सबै संरचना विस्थापन गरि कम्तीमा हजार घरधुरीलाई पुग्ने संरचना बनाइदिन सङ्घीय,प्रदेश र स्थानीय सरकारहरूसँग निर्णयसहित समितिले पटक पटक आग्रह गरेपनि कुनै निकायबाट सुनुवाई नभएको समितिका अध्यक्ष मल्लले गुनासो गर्नुभयो । ‘लोडसेडिङ गरेर जसोतसो समितिले ४ सय ३० सम्म घर तथा कार्यालयहरूलाई दैनिक १ घण्टा पानी दिँदै आएका छौ । मासिक शुल्क २ सय दिनुहुन्छ । सबैको घरमा पानी जाँदैन कार्यरत कर्मचारीलाई तलब दिन पनि धौ धौ पर्छ’, समितिका कोषाध्यक्ष नृपेन्द्र मल्लले बताउनुभयो । उहाँले समितिको अन्य आय स्रोत नहुँदा मर्मत सम्भार गर्न पनि आर्थिक अभाव हुने गरेको बताउनुभयो ।

खानेपानीको मुहान सदरमुकाम गमगढीबाट १५ किलोमिटर टाढा रारा राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र रहेको भmयारी खोलामा रहेको उहाँले बताउनुभयो । कहिले पहिरो,कहिले जिल्लामा बन्ने सडक,सिचाई त कहिले बाढीले पाइपलाइन सहित अन्य संरचना बगाई तथा भत्काई दिँदा हप्ता दिनसम्म पनि बजारवासीलाई पानी वितरण गर्न सकस हुने गरेको अध्यक्ष मल्ल स्विकार्नु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘पाइपको साइज मुहानदेखि बजारको जम्मा ट्याङ्कीसम्म एउटै हुनु पर्ने हो समितिको आर्थिक अवस्था कमजोर भएका कारण कतै पाइप चुँडियो, कतै बगायो भने जति साइजको पाइयो त्यही साइज जडान गरी खानेपानी नियमित गर्ने गरेका छौँ यही कारणले पनि एकै साइजको पाइपमा पानी आउन पाउँदैन र बजारमा पानीको अभाव भइरहन्छ ।’, उहाँले बताउनुभयो ।  

बजारवासीले पर्याप्त तथा शुद्ध खानेपानी नपाउँदा दैनिकजसो आक्रोश बढ्दै जानु स्वभाविक भएको उहाँले बताउनुभयो । ‘खानेपानीको उपभोक्ताहरू पनि आफूहरूले नियमित शुल्क तिरेको कारण शुद्ध र पर्याप्त पानी प्रयोग गर्न पाउनु आफ्नो  अधिकार हो । के पुगेन ? के बनाउनु पर्छ ? कहाँ समन्वय गर्ने ? कहाँबाट योजना ल्याउने ? समितिका पदाधिकारी लाग्नु पर्‍यो भन्दै आवाज उठाइरहनु हुन्छ, हाम्रो बाध्यता आफ्नै छ ।’ उहाँले बताउनुभयो । 

गमगढी बजारमा माथिल्लो बजार,शीतल बजार,माथिल्लो न्युरोड,बागबजारका घरहरूमा समितिले दैनिक १ घण्टा पानी दिए पनि पर्याप्त नभएपनि खानेपानी पुगे कै छ तर तल्लो बजार,तल्लो न्युरोड,कृष्णचाेक देखि तलका घरहरूमा भने एक घण्टा पनि पानी नआउने गरेको स्थानीयहरू बताउँछन् । मासिक शुल्क तिर्दासमेत पानी नपाउनु र औँसी पूर्णिमा जस्तै गरि आउने पानीको कारण वितरण गरिएको पानी खान पाइएला भनेर आश नै मरेको उनीहरू बताउँछन् । घरका धारामा पानी नआएपछि ३० मिनेट टाढा रहेको हुलुम खोला र चैन खोलामा रहेका धाराहरूबाट खानेपानी ल्याएर यहाँका स्थानीयहरू पानी तिर्खा मेट्दै आएको उनीहरू बताउँछन्  ।  ‘समितिले खानेपानी छोडेमा माथि माथिका घर मै सकिन्छ तलका घरहरूको हावा मात्र आउँछ, खानेपानीको लागि हुलुम खोलामा जानुको विकल्प छैन’  स्थानीयहरूले दुखेसो पोखे ।  

गमगढी तल्लो बजारका सन्तोष कुमार मल्ल जिल्ला सदरमुकाम त्यसमा नगरपालिका क्षेत्रका बासिन्दाले न्यूनतम आवश्यकताको शुद्ध खानेपानी पिउन नपाउनु भनेको यहाँका जनप्रतिनिधि र पढेलेखेका भावी नेतृत्व गर्छौ भन्नेहरू सबैको कमजोरी भएको बताउनु हुन्छ । कम्तीमा भावी बजारीकरणलाई मध्यनजर राखी शुद्ध तथा पर्याप्त पानी उपलब्ध हुने गरि दीर्घकालीन समस्या समाधान गर्न गमगढी वृहत् खानेपानी योजना बनाई उक्त योजनामा तीनै तहका सरकारको लगानी हुनुपर्ने सुझाव उहाँको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button