उच्च अदालत विराटनगर, धनकुटा इजलासले गर्यो ६९.३७ प्रतिशत मुद्दा फर्छ्यौट

धनकुटा । आर्थिक वर्ष २०७९÷०८० मा उच्च अदालत विराटनगर धनकुटा इजलासले २ सय ९९ थान मुद्दा फर्छ्यौट गरेको छ ।
अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर गत असार मसान्तसम्ममा कुल ४ सय ३१ थान मुद्दा मध्ये २ सय ९९ थान फर्छ्यौट गरेको जनाएको हो ।
अदालतमा जिम्मेवारी सरेको १ सय २९, देवानी ४६, सरकारवादी फौजदारी १ सय ९६, दुनियाँवादी फौजदारी १४ र पुरानो रिट ४६ गरी ४ सय ३१ मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
अदालतमा असार महिनाको मुद्दा फर्छ्यौट ६४, जेठ महिनासम्मको फर्छ्यौट २ सय ३५ रहेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिनुभयो ।

यस्तै अदालतमा एक वर्षभित्रको बाँकी १ सय २८ र १ वर्ष नाघेको ४ थान गरी १ सय ३२ मुद्दा बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
अदालतले आर्थिक वर्ष २०७८÷७९ मा ६५ प्रतिशतभन्दा माथि मुद्दा फर्छ्यौट गरेको जनाएको छ ।
यस्तै उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले गत आर्थिक वर्षमा ६५ प्रतिशतभन्दा माथि मुद्दा फर्छ्यौट गरेको उच्च अदालत विराटनगर इजलासकी न्यायाधीश अञ्जु उप्रेती ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार धनकुटा जिल्ला अदालतले ६८ दशमलव ८५, तेह्रथुम जिल्ला अदालतले ७२ दशमलव ६५, भोजपुर जिल्ला अदालतले ६३ दशमलव ७९ दशमलव ६१ र सङ्खुवासभा जिल्ला अदालतले ७९ दशमलव ६१ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।
धनकुटा जिल्ला अदालतले छ सय ३९ मा ४ सय ४०, तेह्रथुम जिल्ला अदालतले ३ सय ६२ मा २ सय ६३, भोजपुर जिल्ला अदालतले ५ सय ९९ मा ३ सय ७८ र सङ्खुवासभा जिल्ला अदालतले ६ सय ७७ मा ५ सय ३९ थान मुद्दा फर्छ्यौट गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्