तपाईँ सुन्दै हुनुहुन्छः

वन क्षेत्रलाई रोजगारी–आम्दानीको स्रोत बनाउनुपर्छ : अध्यक्ष ओली

काभ्रे  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको स्रोतका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

सामुदायिक वन दिवस–२०८० का अवसरमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविस्थित अल्छेचौरमा नेकपा (एमाले) वन तथा वातावरण विभागद्वारा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रममा उहाँले वन क्षेत्रको सुरक्षा गर्दै यसको बहुआयामिक ढङ्गले उपयोग गर्नुपर्ने बताउनुभएको हो ।  

“अबको समयमा वन क्षेत्रलाई रोजगारी र आम्दानीको स्रोत बनाउने काम गर्नुपर्दछ”, पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो, “वन क्षेत्रलाई व्यवस्थित रूपले सुरक्षित गर्दै ठुला रुखमा लहरेफल तथा मसलाजन्यलगायत फलफूल हावापानी अनुकूल रोपेर सदुपयोग गर्नुपर्दछ ।” उहाँले सामुदायिक वनसँग मिलेर ‘वनलाई वनको रूपमा विकास गर्न’ स्थानीय तहलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले खेर गएका ठाउँलाई वृक्षारोपण गरी सुन्दर र आकर्षित पर्यटकीय स्थल बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले त अब हावापानी अनुकूल हेरेर स्थानीय वन–जङ्गललाई कृषि वनका रूपमा विकास गर्नुपर्दछ ।” 

केही वर्षदेखि वैज्ञानिक वन–जङ्गलका नाममा पुराना सालघारी नष्ट गरिएकोमा उहाँले दुःखेसो पोख्दै दीर्घकालीन सोच नबनाउँदा आफूले नियन्त्रण गर्ने प्रयास गरेको बताउनुभयो । वातावरणका लागि नेपालजस्तो अनुकूल भू–भाग अरू देशले नछुट्याएको उहाँको भनाइ थियो । 

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, एमाले जिल्लाध्यक्ष अशोक ब्याञ्जू लगायतले मानव जीवनका लागि प्रमुख आवश्यक प्रकृति बचाउँदै विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button