डेंगु फैलिन थालेपछि बुढिगंगा नगरपालिकाका गाउँ गाउँ सचेतना कार्यक्रम सञ्चालन

बाजुरा । बाजुरामा तीव्र रूपमा डेंगु फैलिन थालेपछि बुढिगंगा नगरपालिकाले गाउँ गाउँ गएर सचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ।
नगरपालिकाले डेंगुको सङ्क्रमण फैलिएको र गाउँमा समेत धेरै मात्रामा लामखुट्टे देखिन थालेपछि सरसफाइसहितको सचेतना अभियान थालेको नगर प्रमुख राम बहादुर बानियाले बताउनुभयो।
बुढीगंगा नगरपालिकाले १० वटै वडाका प्रत्येक टोलमा पुगेर सचेतना सन्देश प्रवाह गर्ने, फोहर मैला व्यवस्थापनमा ध्यान दिन दबाब दिने र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे ज्ञान दिने गरी अभियान थालनी गरेको प्रमुख बानियाले जानकारी दिनुभयो।
सचेतनाको सुरुवात बाम्का बजार क्षेत्र रहेको ६ नम्बर वडाबाट गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु जैशीले बताउनुभयो।
६ नम्बर वडामा ६ वटा टोली बनाएर सरसफाइ अभियान नै सुरुवात गरिएको छ । बाजुरा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय बाजुरासँगको सहकार्य र सहयोगमा अभियान थालनी गरिएको बुढीगंगा नगरपालिकाले जनाएको छ।

डेंगुले उच्च सतकर्ताका लागि घण्टी बजाइसकेको र बेलैमा सचेत नभए थप जोखिम बढ्ने भएकोले समयमै सचेतनाका लागि पालिका स्तरबाटै अभियान थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो ।
टोलमै स्वास्थ्यकर्मी पठाएर बालबालिका, वृद्ध वृद्धा, महिला पुरुष सबैलाई सचेतना शिक्षा दिने अभियान पालिका स्तरमा नै सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
४ महिनाको अवधिभित्र बाजुरामा १० जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । बाजुरा जिल्ला अस्पतालमा ३ र टाँटे स्वास्थ्य चौकी बुढीगंगामा ७ जना गरी १० जनामा ल्याब जाँचपछि डेंगु रोगको सङ्क्रमण देखिएको हो ।
वैशाखयता मात्रै बाजुरा जिल्ला अस्पतालमा जाँचका लागि आउने बिरामी मध्ये ३ जनामा डेंगुको सङ्क्रमण देखिएको बाजुरा जिल्ला अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट राम विष्टले बताउनुभयो ।
यता टाँटे स्वास्थ्य चौकी, बाह्विस स्वास्थ्य चौकीको ल्याबमा जाँचका लागि आएका बिरामी मध्ये ७ जनामा सङ्क्रमण पुष्टि भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद जैशीले बताउनुभयो । डेंगु देखिएका १० मध्ये ४ जना बालबालिका रहेका छन् ।
बजार क्षेत्रमा बढ्दो फोहरका कारण डेंगु रोगको सङ्क्रमण बाजुरामा पनि फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ। बाजुराका मार्तडी, कोल्टी, बाम्का लगायतका बजार क्षेत्रमा फोहर मैला व्यवस्थापन नहुँदा लामखुट्टेको सङ्ख्या बढ्दै गएको छ ।
चिकित्सकहरूका अनुसार डेंगूको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिने जस्ता लक्षणहरू देखा पर्ने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा मात्रै डेंगूबाट चार जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म एक हजार ७ सय बढी डेंगूका सङ्क्रमित फेला परेका छन् । पहाडी क्षेत्रमा लामखुट्टे देखिए पनि निकै कम मात्रामा देखिन्थ्यो, अहिले धेरै मात्रामा लामखुट्टेको सङ्ख्या देखिन थालेको अवस्था छ।








प्रतिक्रिया राख्नुहोस्