अस्पताल जाने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या
काठमाडौँ । पछिल्लो समय देशैभरि आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामीहरू चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो ।

नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको बताउनुहुन्छ संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र ।
देशैभरि अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको बताउनुहुन्छ नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द ।

नेपाल नेत्रज्योति सङ्घको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगन्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरूमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।
आँखा पाक्ने समस्या भएका बिरामीहरूमा अकस्मात् आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरू देखिन्छन् ।
हरेक साल वर्षाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरूको भनाइ छ । सुरुवातमा भारतको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरि फैलिएको छ ।
देशैभरि यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले त विद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरूले नआत्तिई सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।
नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभाबी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।
समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरूको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउनुहुन्छ डा.लामिछाने । यस्तो समस्या देखिएका बिरामीहरूको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरूको प्रयोगबाट मात्र यो रोग सर्ने उहाँको भनाइ छ ।
यस्तो समस्या देखिएका बिरामीहरूले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न सुझाव उहाँको छ ।
कारागारका कैदीबन्दीमा पनि आँखा पाक्ने समस्या
जिल्ला कारागार घोराहीमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएको छ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदीबन्दि रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको बताउनहुन्छ राप्ती आँखा अस्पतालका निमित्त प्रशासक, नेत्र अधिकृत सालिक राम गौतम ।

सो आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लाल बहादुर चौधरी, नेत्र अधिकृत सालिक राम गौतम, टेक बहादुर चौधरी, पूर्ण बहादुर वली, किरण पौडेल, छेदुराम चौधरि र शशिकला चौधरीले आँखा जाँच गर्नुभएको थियो । सो अवसरमा नेपाल नेत्रज्योति संघ, दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्यको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्