तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा विद्यालयहरुमा सचेतनामूलक कक्षा सञ्चालन गर्दै प्रहरी

नेपालगञ्ज । बाँकेमा प्रहरीले विद्यार्थीहरूका लागि विभिन्न सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ । ट्राफिक नियम, लागूऔषध दुर्व्यसन, यौन दुर्व्यवहार लगायतका विषयमा सचेतना कक्षाहरू सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएका सचेतनामूलक अभिमुखीकरणबाट विद्यार्थीहरूले कानुनको उल्लङ्घन, सजाय र आफ्ना अधिकार लगायतका बारेमा जानकारी पाउने गरेका छन् । प्रहरीले विद्यालयहरूमा पुगेर सवारी दुर्घटना, सवारी नियमको पालना, सडक यात्रुले पालना गर्नुपर्ने नियमका बारेमा सचेतनामूलक जानकारी प्रदान गरिरहेको छ ।

त्यस्तै जर्बजस्ती करणी सम्बन्धि, कानुनी प्रक्रिया, हदम्याद, दण्ड सजाय लगायतका विषयमा पनि प्रशिक्षण दिइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश विकले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले विभिन्न विद्यालयहरूमा पुगेर सचेतना कक्षाहरू सञ्चालन गरिरहेका हुन् ।

“विद्यालयदेखि नै विद्यार्थीहरू धेरै विषयमा सजग हुनुपर्ने अवस्था छ, ट्राफिक नियम, यौन दुर्व्यवहार, लागूऔषध जस्ता विषयमा सचेत हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सचेतना कक्षाहरू सञ्चालन गरिरहेका छौँ,” प्रहरी निरीक्षक विकले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button