दोलखामा पहिरोले घर बगाउदा दुई जनाको मृत्यु, दुई बेपत्ता (अपडेट)

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार राति गएको पहिरोमा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।
अविरल वर्षाको कारण बिहीबार बेलुका आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर, उनको श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ र तीन वर्षको बालक प्रिन्स थामी बेपत्ता भएकोमा शुक्रवार देवीमाया मगर र सिता थामीको छोरा तीन वर्षका प्रिन्स थामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।
पहिरोले स्थानीय कृष्णबहादुर मगरको घर पुरै बगाएको तथा हरिलाल श्रेष्ठ, यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरमा समेत पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी सिता थामी घाइते भएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।
घाइते तीनै जनालाई उपचारको लागि काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घाइते यज्ञ थामी र उनको श्रीमती धनकुमारी थामीलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो भने बुहारी सिता थामीलाई स्थानीय अस्पतालमा प्राथामिक उपचारपछि एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।
केएमसीमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिन प्रतिनिधिसभा सदस्य सांसद गंगा कार्की, प्रदेश सांसद कुन्दनराज काफ्ले, भरत केसीलगायत विभिन्न दलका नेताहरू पुग्नुभएको थियो । बिरामीको अवस्था नाजुकै रहेको सांसद कार्कीले बताउनुभयो ।

बिहीबार वडा नम्बर ८ सल्लेको ठाडो खोलामा बाढी आएर पहिरो गएको थियो । पहिरोले वडा नम्बर ८ सल्लेको ३०÷३२ घर उच्च जोखिममा रहेको स्थानीय समाजसेवी कुमार तामाङले बताउनुभयो । सल्लेबाट सुरु भएको पहिरोले नै टोपाटारको घर बगाएको तामाङले बताउनुभयो ।
बेपत्ता तथा घाइतेहरूको अहिले जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तथा उद्धारको काम गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्