बागमती प्रदेश सरकारले लोपोन्मुख समुदायको स्वास्थ्य बिमा गराउँदै
मकवानपुर ।बागमती प्रदेश सरकारले प्रदेशका लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेरै पछाडि पारिएका समुदायहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा ५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेर लोपोन्मुख समुदायको स्वास्थ्य बिमा गराउन लागेको हो । चालु आर्थिक वर्षमा सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गतामा क र ख वर्ग भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा बापतको प्रिमियम मन्त्रालयले तिरिदिने मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा प्रदेशका १३ वटै जिल्लाका ११९ वटै स्थानीय तहका प्रत्येक वडाबाट तोकिएका व्यक्तिहरूको पहिचान गरेर स्वास्थ्य बिमा बापतको प्रिमियम रकम तिरिदिने गरी तयारी गरिएको मन्त्रालयका प्रवक्ता दिपक प्रसाद तिवारीले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा उक्त कार्यक्रम मार्फत आश्रममा आश्रितहरूको बिमा गरिएको थियो । भने, चालु आर्थिक वर्षमा बिमा बोर्ड मार्फत प्रत्येक वडासम्म पुग्ने तयारी भएको उहाँले बताउनुभयो ।
स्वास्थ्य बिमा नभएका कारण औषधि उपचार गर्दा महँगो रुपमा रकम तिर्नुपर्ने, पैसा अभावकै कारण उपचार पाउन समस्या हुने भएकाले प्रदेश सरकारले लक्षित बर्गलाई तोकेर बिमा गर्न लागेको हो । स्वास्थ्य बिमा गरिदिएपछि प्रत्येक पाँच जना देखि सात जना सम्मको परिवारलाई एक लाख देखि एक लाख २५ हजार रुपैयाँ सम्मको बिमा हुनेछ ।
बिमा गरेका बिरामीहरू सरकारले तोकिएका सरकारी तथा निजी अस्पतालमा निःशुल्क रुपमा उपचार र औषधी प्राप्त गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्