तपाईँ सुन्दै हुनुहुन्छः

बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर

बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ ।

उक्त चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यबाट सदस्यता शुल्कबापत सङ्कलन गरिएको हो । केन्द्रीय समितिको सङ्गठन विभागले सदस्यता रकम व्यवस्थापनका साथै कोष सञ्चालन गर्दै आएको छ ।

विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पीडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो । विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।

केन्द्रीय समितिको सङ्गठन विभागले अग्रपङ्क्तिमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुने गरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।

गत शनिबारदेखि ती स्थानमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ भने बाढीको चपेटामा परेका सर्वसाधारण राहतको प्रतीक्षामा रहेका फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । एक सय ४० वर्षपछि देशमा यति भीषण वर्षा भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा लगातार ४० घण्टा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button