गाउँटोलमै गएर भत्ता वितरण

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा वडा ८ ले “एक हातमा भत्ता, अर्को हातमा थर्मस” कार्यक्रम लागु गरेको छ ।
गाउँटोलमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई थर्मस उपहार दिइरहेको छ । नियमित औषधी सेवन गर्ने र तातो पानीको प्रयोग गरिरहने ज्येष्ठ नागरिकहरूको सहजताको लागि थर्मस वितरण गर्न लागेको वडाअध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो ।
आर्थिक बर्ष २०७९/०८०मा विनियोजित १लाख ७२हजार रकममा थर्मसहरू खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभयो ।
भत्तासँगै उपहारमा थर्मस पाउँदा खुसि लागेको ज्येष्ठ नागरिक मगनी विष्टले बताउनुभयो । बेलाबेलामा चिया र तातोपानी खाइराख्ने व्यक्तिका लागि पटक–पटक दाउरा बाल्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । बिहानै पकाएको चिया दिनभर थर्मसमा राखेर सेवन गर्न सकिने उहाँले बताउनुभयो ।
मेलौली नगरपालिकाले कुमारी बैङ्क लिमिटेडसँग समन्वय गरी टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको छ ।
ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरूको सहजताका लागि टोलबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।
बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउन सेवाग्राहीलाई निकै सास्ती हुने गरेको पर्याप्त उदाहरण रहेका छन् । सोमबार सामाजिक सुरक्षा भत्ता लिन ४ घण्टाको पैदल यात्रा गरेका पञ्चेश्वर गाउँपालिका–६ का ७१ वर्षीय धन सिंह भण्डारी बाटोमै मृत फेला परेका थिए ।
गत वर्ष पनि सिगास गाउँपालिकामा भत्ता लिन ६ घण्टाको पैदल गरेर बैङ्कसम्म पुगेका एकजना वृद्धको बाटोमै मृत्यु भएको थियो ।
जिल्लाको सिगास, डिलाशैनी, मेलौली, शिवनाथ, पञ्चेश्वर लगायतका स्थानीय तहका दुर्गमका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता बुझ्नका लागी बैङ्कमा पुग्न समस्या हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्