तपाईँ सुन्दै हुनुहुन्छः

आ. व. २०७९/०८० मा झापामा ९२७ नयाँ उद्योग दर्ता, २०२४ लाई रोजगारी

भद्रपुर, झापा । आर्थिक मन्दीका कारण उद्योग–व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा पनि आ. व. २०७९/०८० मा झापामा ९ सय बढी नयाँ उद्योग सञ्चालनमा आएका छन् ।

झापामा सो वर्ष ४६७ महिला र ४६० पुरुष सञ्चालक रहेको ९२७ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  दर्ता भएका सबै उद्योग साना प्रकृतिका छन् ।

गत आवमा उत्पादनमूलक १४४, कृषि तथा वन पैदावारमा आधारित ३६५ र सेवामूलक ३७० नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ९०७ महिला र १११७ जना पुरुष गरी २०२४ जनाले रोजगारी पाएका छन् ।

गत आवमा १०१ उद्योग बन्दसमेत भएको कार्यालयले जनाएको छ ।

झापामा उद्योग दर्ताको सङ्ख्या भने आव २०७८/०७९ को तुलनामा करिब ६० प्रतिशत घटेको छ । आ.व. २०७८/०७९ मा १९८८ नयाँ उद्योग दर्ता भएका थिए । आव २०७४/०७५ यता छ वर्षको अवधिमा झापामा २५ हजार ६९७ वटा उद्योग दर्ता भएका छन् ।

आ. व. २०७९/०८० मा ६६८ वटा उद्योगले नवीकरण, ३३ वटाले नामसारी, आठ वटाले ठाउँसारी, ३८ वटाले उद्देश्य थप, २४ वटाले सुविधाको सिफारिस, ५६ वटाले प्रतिलिपि, १३३ वटाले पूँजी थप र सात वटा उद्योगले नाम परिवर्तन गरेको कार्यालयले जनाएको छ ।

गत वर्ष जिल्लाका २५६ वटा उद्योगको अनुगमन–निरीक्षणसमेत गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button